![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4aee0a581e0a497e0a581-e0a485e0a4b8e0a58de0a4aae0a4a4e0a4bee0a4b2e0a4aee0a4be-e0a4ace0a58de0a4b2e0a4a1-e0a4ace0a588e0a482e0a495.jpg)
मुगु ।
मुगु जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा गम्भीर बिरामीहरुलाई समयमा रगत उपलब्ध गराउन मुस्किल भइरहेको छ। आकस्मिक रुपमा रगत आवश्यक परेमा बिरामीका आफन्त वा स्थानीय व्यक्तिहरुसँग गुहार्नुपर्ने बाध्यता छ।
स्वास्थ्य सेवा व्यवस्थापक तथा बालरोग विशेषज्ञ डा. निर्मल नगरकोटीले अस्पतालमा रक्तसन्चार सेवा नभएको जानकारी दिए। उनले भने, ‘अस्पतालमा गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालकै चिकित्सक वा अन्य कर्मचारी बाट रगत डोनेट गर्ने ब्यबस्था मिलाएका छौं।
रगत आवश्यक परेको बेला व्यक्तिबाटै काम चलाएका छौँ, खासै समस्या त छैन तर पनि केही समयपछि रक्त सन्चार सेवा केन्द्र स्थापना गर्ने सोचिरहेका छौं।’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले पनि यो समस्या समाधान गर्न पहल भइरहेको जानकारी दिए। १५ शय्याको यस अस्पतालमा दुई जना विशेषज्ञसहित १० जना चिकित्सक कार्यरत छन्।
तर, आधारभूत पूर्वाधार नहुँदा बिरामीहरूले गुणस्तरीय सेवा लिन नसकेको स्थानीयहरूले गुनासो गरिरहेका छन्। मुगु अस्पतालमा दैनिक आकस्मिक तथा सामान्य बिरामीहरूको चाप बढ्दै गएको छ। तर, ब्लड बैंक नहुँदा रगत आवश्यक परेका बिरामीका आफन्तहरू टाढासम्म खोज्न जानुपर्ने अवस्था छ।
यो समस्या समाधानका लागि प्रदेश सरकार तथा संघीय सरकारको तत्काल ध्यान जान आवश्यक रहेको सरोकारवालाहरु बताउँछन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।