![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a495e0a4bee0a4a0e0a4aee0a4bee0a4a1e0a58ce0a481-e0a4aee0a4b9e0a4bee0a4a8e0a497e0a4b0-e0a4a8e0a58de0a4afe0a4bee0a4afe0a4bfe0a495.jpg)
काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले आज ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण गरेको छ। राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ‘मेलमिलाप प्रवर्धनका विविध कार्यक्रमसहित न्यायिक समिति दिग्दर्शन लोकार्पण समारोहमा’ पुस्तक सार्वजनिक गरिएको हो।
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), विशेष अदालत काठमाडौंका अध्यक्ष टेकनारायण कुँवर, संविधानविद काशीराज दाहाल, महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसहित पदाधिकारीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन्।
समारोहमा महानगरपालिकाका प्रमुख शाहले सूचीकृत १२५ जना मेलमिलापकर्तालाई शपथ गराएका थिए। यस्तै मेलमिलाप प्रवर्धनका लागि महानगरपालिकाले निर्माण गरेको म्युजिक भिडियो समेत सार्वजनिक भएको थियो। पुस्तकमाथि संविधानविद काशीराज दाहालले समीक्षा गरेका थिए।
काठमाडौँ महानगरपालिकाले २०७९ चैत १५ र १६ गते काठमाडौंमा न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौती सम्बन्धी अनुभव, सिकाइ र भोगाइ आदान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनले ११ बुँदे ‘११ बुँदे काठमाडौँ घोषणा’ जारी गरेको थियो।
न्यायिक समितिका पदाधिकारीहरुका बिचमा क्षेत्राधिकार, समितिको भूमिका, समिति सम्बद्ध कानुनका विषयमा थप स्पष्ट हुने अपेक्षा राखेर आयोजना गरिएको सम्मेलनमा मेलमिलापका माध्यमबाट समाधान गर्न सकिने विवाद र यसका लागि अपनाउनु पर्ने विधि, मेलमिलाप र निर्णय प्रक्रियालगायत विषयमा प्रस्तुतिकरण, टिप्पणी, अनुभव प्रस्तुतिसहित अन्तरक्रियात्मक संवाद भएको थियो।
न्यायिक समितिको दिशालाई निर्देशित गर्न सम्मेलनले देखाएको बाटो र प्रक्रिया सम्बन्धी निचोडलाई दिग्दर्शनमा समेटिएको छ। यसले भौगोलिक, सामाजिक, आर्थिक विविधताका बिचमा पनि समितिले अवलम्बन गर्नु पर्ने साझा मार्ग निर्देशित गर्नेछ। यसलाई सबै स्थानीय तहमा पुर्याइनेछ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।