![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4a8e0a587e0a495e0a4aae0a4be-e0a48fe0a4aee0a4bee0a4b2e0a587-e0a4a7e0a4bee0a4a6e0a4bfe0a499e0a4b2e0a587-e0a4a5e0a4bee0a4b2e0a58d.jpg)
धादिङ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङले तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सुरु गरेको गरेको छ । आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर चलिरहेको ‘मिसन–८४’ अभियानसँगै नेकपा एमाले धादिङ वडाकेन्द्रित अभियानमा जुटेको हो ।
केन्द्रिय कमिटिको निर्णय अनुसार नेकपा एमाले धादिङले संगठनका कमजोरी, जनताको चासो र गुनासो संकलन गरी सम्बोधनको प्रयास गर्ने उद्देश्यसहित अभियान सुरु गरेको नेकपा एमाले केन्द्रिय सदस्य एवं् धादिङ इन्चार्ज खेमप्रसाद लोहनीले बताए ।
‘जरा अभियान वडा केन्द्रीत कार्यक्रम हो । जनतासम्म पुग्ने भेटघाट गर्ने, समस्या के हो ? आवश्यकता के के छन् ? संकलन गर्ने र कार्यान्वयनमा पहल हुनेछ,’ लोहनीले भने–‘हाम्रा पलामा भएका कामहरुको प्रचार गर्दै एमालेमाथी हाल भइरहेको साइबर आक्रमणलाई साइबरबाटै प्रतिकार गर्न पनि अभियानले सहयोग पुग्नेछ ।’
एमालेको नेतृत्वमा भएका राम्रा कामहरू जनतासम्म पु¥याउने र जनताको सुझाव संकलन गरेर समृद्धिको कार्यक्रम तयार गर्न यो अभियान संचालन गरिएको नेकपा एमाले धादिङका अध्यक्ष भूमी त्रिपाठीले बताए । वडा केन्द्रित अभियान अन्तर्गत तीन महिनासम्म संचालन हुने जरा अभियानमा स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरु प्रत्यक्ष रुपमा खटिनेछन् । संगठनका कमजोरी, जनताको चासो र गुनासो के छ भन्ने कुरा त्यो अभियानको क्रममा संकलन गरिने र सम्बोधनको प्रयास हुने त्रिपाठीले बताए ।
‘जनसंगठनमार्फत विभिन्न पेसा र व्यवसायमा रहेका गैरएमाले पंक्तिलाई एमालेको नजिक ल्याउने काम यो अभियानमा हुन्छ,’ जिल्ला कमिटि धादिङका अध्यक्ष त्रिपाठीले भने– ‘जरा अभियानमा एमालेले नेतृत्व गरिरहेका र यसअघि नेतृत्वमा हुँदा गरेका कामहरूको प्रचार अभियानका क्रममा हुनेछ ।’
स्थानीय तह तथा वडा कमिटी अधिवेशन सम्पन्न गर्ने, आगामी चैतभित्र संगठित सदस्य नवीकरण, जनसंगठन कमिटी गठन, सरकारको समृद्धिको अभिायनलाई सफल बनाउने ‘एजेन्डा’ अघि राखेर सम्बन्धित निकायमा दबाब दिनेलगायत कार्यक्रम गरिने नेकपा एमाले धादिङका जिल्ला सचिव राधिका सापकोटाले बताइन् ।
तीन वटै तहमा रहेर जनताको हितमा एमालेले काम गरिरहेकाले त्यसको प्रचारमा पनि पार्टीपंक्ति परिचालन गरिने सापकोटाको भनाई छ । ‘अभियानका क्रममा हुने महत्वपूर्ण काम भनेको जनतासँग एमालेलाई अझ कसिलो गरी जोड्नु हो । ‘यो अभियानमा एमालेले जनताबाट सिक्ने र जनतालाई सिकाउने नीति कार्यान्वयन गर्नेछ,’ सापकोटाले भनिन् ।
बुधबार मदन आश्रित भवन धादिङबेसीमा भएको छैटौं बैठकलाई सम्बोधन गर्दै प्रदेश कमिटि सचिव नवराज सिलवालले सरकारले गरेका सुशासन, विकास निर्माण तथा आगामी योजना एवं समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन निरन्तर जनताको काममा लाग्न निर्देशन दिएका थिए । एमाले धादिङले सुरु गरेको ‘जरा अभियान’ आगामी चैत मसान्तसम्म सञ्चालन हुनेछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।