
काठमाडौं ।
भारत, उत्तर प्रदेशको प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको तीर्थालुको सवारी दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएको छ ।
कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परी तीन जनाकाे मृत्यु भएकाे छ भने चालकसहित पाँच जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्मा रहेकी छन् ।
घाइते हुनेमा देवदह भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् ।
गाडी चालक निदाएर दुर्घटना भएको हुनसक्ने भारतीय प्रहरीको प्रारम्भिक अनुमान छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।