![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4b0e0a58be0a4b9e0a4bfe0a4a3e0a580e0a495e0a4be-e0a4b6e0a4bfe0a495e0a58de0a4b7e0a4be-e0a4b6e0a4bee0a496e0a4be-e0a4aae0a58de0a4b0.jpg)
बुटवल ।
रुपन्देहीको रोहिणी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधु प्रसाद घिमिरे माथि वडा अध्यक्षद्धारा आक्रमण गरी घाइते बनाएको भन्दै कडा कारवाहीको माग गरिएको छ ।
रोहिणी–२ का अध्यक्ष करम हुसेन खानले अप्रिय गालीगलौज सहित भौतिक आक्रमण गरी घिमिरेलाई घाइते बनाएको भन्दै यो घटनाप्रति गाउँपालिकामा कार्यरत कर्मचारीहरुले गम्भिर ध्यानाकर्षण गरेका छन्।
‘सोमबार कर्मचारीहरुद्वारा जारी विज्ञप्तीमा दिउँसो १२ः१५ बजे यस गाउँपालिका रुपन्देहीको कार्यालयमा कार्यपालिका बैठक सञ्चालन भइरहेको अवस्थामा शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख घिमिरेलाई आमन्त्रित गरी बैठकमा सहभागीता जनाउनुभएको हो । वडाअध्यक्ष खानले बारम्बार कर्मचारीहरुलाई गालीगलौज गर्ने र शाखामा तालाबन्दी समेत गर्ने गरेको, कर्मचारीमाथि अप्रिय अपशब्द व्यक्त गर्ने र दादागिरी देखाउने कार्य गर्दै आएको अवस्था छ ।’
यस परिस्थितिमा कुनै राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्ने कार्यले अत्यन्तै मर्माहत बनाएको विज्ञप्तीमा उल्लेख छ । ‘कार्यालय समयमै कर्मचारीहरुमाथि आक्रमण हुनु अत्यन्तै खेदजनक कार्य हो, सम्पूर्ण गाउँपालिकाका कर्मचारीहरु यस निन्दनीय कार्यको घोर भत्र्सना गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ । कर्मचारीहरुले घटनाको दोषी उपर कडा कारवाही गरी गाउँपालिकामा भयरहित र स्वतन्त्र ढंगले कार्यालयका कामहरु सञ्चालन गर्ने वातावरण नबनेसम्म गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको जनाएका छन् । ‘यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौं, ’विज्ञप्तीमा उल्लेख छ ।
यता रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानले भने गाउँ शिक्षा समिति एकलौटी रुपमा पुर्नगठन गरिएपछि सोही विषयमा बैठकमा शिक्षा शाखा प्रमुखलाई बोलाएर यसबारे स्पष्ट पार्न आग्रह गरिएको प्रतिक्रिया दिए । बैठकमा चर्काचर्की र धकेलाधकेल भएको अध्यक्ष खांनले स्वीकार गरेका छन् । उनले कर्मचारीले जनप्रतिनिधीलाई दूरव्यवहार गरेको भन्दै कारवाहीकालागि जिल्ला समन्वय समितीमा उजुरी दिएको समेत बताएका छन् ।
गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ । घटनाका सम्बन्धमा गांउपालिका अध्यक्ष विद्या प्रसाद यादवले कार्यपालिका बैठक सञ्चालन भइरहेको अवस्थामा कार्यालयकै कर्मचारीमाथि हात पात गर्नु निदनिय कार्य भएको भन्दै खेद प्रकट गरे ।
वडा अध्यक्ष वाट गलत काम भएकोले छानविन गरि कारवाहीका लागि प्रशासनलाई पत्राचार गरेको समेत अध्यक्ष यादवले बताउनु भयो । घटना संगै कार्यपालिका बैठक स्थगित गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।