पाल्पा।
सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्न र विद्यालय प्रति सरोकारवालाको अपनत्व वृद्धि गर्नका लागि लुम्बिनी प्रदेश सरकारले सुरु गरेको
‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान पाल्पामा पनि सुरु भएको छ। पाल्पामा प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले आफूले अध्ययन गरेको विद्यालय जनता माध्यमिक विद्यालय तानसेनबाट यो अभियानको शुभारम्भ गरे ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो।
पूर्व विद्यार्थीको तर्फबाट अभियानको सुभारम्भ गर्दै मन्त्री सारुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन जरुरी रहेको उल्लेख गर्दै गुणस्तर नतिजामा मात्र नभई सामाजिक विकासमा विद्यार्थीको योगदानलाई हेरेर तय गरिनु पर्ने बताए । उनले सबै पक्षबाट यसको दायित्व लिनुपर्नैमा जोड दिदै सामुदायिक विद्यालयलाई नमुना बनाउनका लागि यो अभियानबाट सहयोग पुग्ने बताए ।
उनले आफूले पढेको विद्यालय प्रतिको दायित्वका विषयमा सबै सरोकारवालाको चासो र चिन्ता हुनुपर्ने वोध गरेर मन्त्रालयले चालू आवको नीति तथा कार्यक्रममा समावेश गरेर र यो अभियान नियमित रुपमा चल्ने जानकारी दिए ।
सार्वजनिक विद्यालयको शाख र गरिमालाई कायम गर्न तथा सबै सरोकारवालालाई सामुदायिक विद्यालय प्रति जवाफदेही बनाउन प्रदेश सरकारले आफ्नो नीति कार्यक्रममा यो अभियान समावेश गरेको थियो। गत वर्ष एसईईको नतिजा कमजोर आएपछि सुधारका लागि यो अभियान थालिएको हो। अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिवृद्धि गर्न पूर्व विद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ।

अभियानमार्फत् विद्यालय व्यवस्थापन, सामाजिक जागरुकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न गतिविधि सञ्चालन गरिनेछ। अभियानअन्तर्गत शिक्षाबाट वञ्चित वर्गलाई मूलधारमा ल्याउन आर्थिक तथा भौतिक सहयोग जुटाइनेछ। विविध शैक्षिक प्रतियोगिताका आयोजना, छात्रवृत्ति कोष स्थापना, सूचना प्रविधि सामग्री हस्तान्तरण तथा व्यावसायिक मार्गदर्शन कार्यक्रमहरू सञ्चालन गरिने छन्।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, विद्यालयका पूर्व प्रधानाध्यापकद्धय वुद्धिप्रसाद शर्मा र मेघराज पौडेल, तानसेन नगरपालिका वडा नं ३ का वडाध्यक्ष वावुरत्न शाक्य, सन्तोष खनाल लगायतले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला सवैले ध्यान दिनुपर्ने बताए ।
त्यसै गरी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी रिब्दीकोटस्थित आदर्श मावि देउरालीमा पुगेर अभियानमा सहभागि भए ।
प्रदेश प्रमुख सचिव अधिकारीले आदर्श माविमा पुगेर विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि आफूले सक्दो प्रयास विगतमा पनि गर्दै आएको र आगामी दिनमा पनि गर्ने जानकारी गराउँदै सामुदायिक विद्यालयप्रति चासो र आफ्नो दायित्वबोध गराउने अभियानको मुख्य उद्देश्य रहेको बताए ।
सो अवसरमा सामुदायिक विद्यालयको गुणस्तर सुधारका बारेमा पाल्पा जिल्लाका प्र.जि.अ. श्री तोय नारायण सुबेदी, रिब्दिकोट गा. पा. का उपाध्यक्ष श्री कान्ता अधिकारी लगायतले शैक्षिक गुणस्तर सुधारका विषयमा वोलेका थिए ।
यो अभियान एकै पटक लुम्बिनी प्रदेशका सबै जिल्लामा सुरु भएको छ। जसमा प्रदेश सरकाका मुख्यमन्त्री, मन्त्री र सरोकारवालाले आ आफ्नो विद्यालयमा सहभागि भएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।