
काठमाडौं ।
नेपालमा स्वास्थ्यका विषयमा निकै चर्चा परिचर्चा हुँदै गरेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट बिहीबार साँझबाट ह्याकरको कब्जामा परेको र तीन दिनपछि शनिवारबाट ह्याकर मुक्त भएको छ ।
मन्त्रालयका आईटी प्राविधिक, राष्ट्रिय सूचना प्रविधि आयोगका प्राविधिक तथा अन्य आईटी प्राविधिकको सहयोगमा वेबसाइट ह्याकरको नियन्त्रणबाट फिर्ता भएको मन्त्रालयले जनाएको छ । चेनस्मोकर नामक ह्याकरले ह्याक गरेको ५ मिनेटभित्र थाहा पाएकाले वेबसाइटलाई थप क्षति हुनबाट आईटी प्रविधि विज्ञहरूले बचाएको मन्त्रालयको दाबी छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वेबसाइट बिहीबार बेलुकादेखि ह्याक भएको जनाउँदै ह्याकरको कब्जाबाट फिर्ता ल्याउनका लागि आईटी प्राविधिकहरू लागि परेको र सफल भएको बताउनुभयो । उहाँले शनिबार बिहानैदेखि वेबसाइट पूर्ववत रूपमा चलेको र थप अनुसन्धानका लागि आइतबार सचिव स्तरीय छलफलले टुंगो लगाउने बताउनुभयो ।
पछिल्लो समय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थको बट्टाको बाहिरी भाग ९० प्रतिशतबाट बढाएर शतप्रतिशत सचेतनामूलक चित्रले ढाकिएको हुनुपर्ने निर्णय गर्दा सुर्ती उत्पादकहरूले स्वास्थ्य मन्त्रालयको निर्णयप्रति असन्तुष्टि जनाएको र यही समय वेबसाइट ह्याक हुनुलाई स्वास्थ्य मन्त्रालयले अर्थपूर्ण रूपमा लिएको जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।