
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २८औं स्वास्थ्य सेवा दिवस २०८१ ‘सर्वसुलभ स्वास्थ्य सेवा: निरोगी नेपाल हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी मनाएको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा राज्यको प्राथमिकता हो । संवैधानिक व्यवस्थामै स्वास्थ्य सेवा प्रभावकारी बनाउने सुनिश्चित गरिएको छ तर प्रभावकारी र व्यवस्थित हुन नसकेको बताउनुभयो । उहाँले यसका लागि स्वास्थ्य मन्त्रालयमा लामो समय सेवा गरेका स्वास्थ्यकर्मी, कर्मचारी तथा सहकार्य गर्दै आएका संघसंस्था र सरोकारवाला पक्षहरूसँग छलफल र विमर्श गर्नुपर्ने कुरा स्वीकार्छु भन्नुभयो ।
उहाँले भन्नुभयो– ‘स्वास्थ्य सेवा दिने विज्ञहरू डाक्टर, नर्सहरूलाई मानसिक दबाब मुक्त बनाउनुपर्छ । नेपाली युवा स्वास्थ्यकर्मीहरूको विदेश जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न कामको उच्च मूल्यांकन र समयसापेक्ष तलब निर्धारण गर्नुपर्छ । यसका साथै सामाजिक प्रतिष्ठा हुनुपर्छ अनि मात्र सेवा प्रवाह राम्रो हुन्छ ।
यसका लागि छुट्टै स्वास्थ्य सेवा ऐन बन्नुपर्छ । यसका लागि छिट्टै एकीकृत स्वास्थ्य सेवा ऐन तीन तहलाई नै समेट्ने गरी ल्याउँछौं । हाल सीमित स्रोत साधन र जनशक्तिमा रहेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपरेको छ ।’
स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्य मन्त्रालयमा धेरै कुरा पाइपलाइनमा रहेको र त्यसको नतिजा आउने बेला नभएको बताउनुभयो । स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले नेपालका पहिलो राष्ट्रपति तथा २०४६ को प्रजातन्त्रपछिका स्वास्थ्यमन्त्री डा. रामवरण यादवले पञ्चायती व्यवस्थामा खुम्चिएर रहेको स्वास्थ्य सेवालाई जनताको स्वास्थ्यसँग जोडेर उपस्वास्थ्य चौकी हरेक गाउँ विकास समितिमा हुनुपर्ने नीति नल्याएको भए आज प्रत्येक पालिकामा स्वास्थ्य संस्था हुने थिएनन् भन्नुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।