
उदयपुर ।
सवौच्च अदालतका प्रधान न्यायाधीस प्रकाशमान सिंह राउत बिहीबारदेखि गृह जिल्ला उदयपुरमा रहेका छन् ।
विहीबार साँझ गृह जिल्ला उदयपुरमा आएका प्रधान न्यायाधीस राउत शुक्रबार उदयपुरको कटारी नगरपालिका, कटारी विद्यार्थी समाज काठमाण्डौ र उदयपुर उद्योग वाणिज्य सङ्घ कटारीले संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भएका थिए ।
कटारी नगरपालिकाको उक्त कार्यक्रम बाहेक अन्य स साना कार्यक्रममा सहभागी हुनुका साथै शनिबार उदयपुरगढी गाउँपालिका र पञ्चावती सद्भाव समाजले संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भै ऐतिहासिक उदयपुरगढी पुरानोगढीमा निर्माण गरिएको नयाँ संरचनाको अवलोकन गरेका छन् ।
उदयपुरगढी गाउपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष मान बहादुर मगर, उपाध्यक्ष जे.बी खड्का र पञचावती सद्भाव समाजका तर्फबाट समाजका पूर्व अध्यक्ष एवम् पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य र उपाध्यक्ष बोधकुमार घिमिरेले संयुक्त रुपमा सम्मान गरेका थिए ।
शनिबार साझ नै प्रधान न्यायाधीस राउत सदरमुकाम गाईघाट स्थित उदयपुर जिल्ला अदालतमा पुग्नु भएको थियो । जिल्ला अदालतमा निरीक्षण पश्चात जिल्ला अदालत वार इकाइले आयोजना गरेको स्वागत सम्मानमा सहभागी भएका उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।
प्रधान न्यायाधीस राउत भोलि आइतबार जिल्ला समन्वय समिति उदयपुरले आयोजना गरेको स्वागत सम्मानमा सरिक हुनु हुनेछ । सो स्वागत सम्मान कार्यक्रममा प्रधान न्यायाधीस राउत र उदयपुरकै माटोमा जन्मे हुर्केका सचिवहरु कृष्णबहादुर राउत, मुकुन्द निरौला र अतिरिक्त प्रहरी महानिरीक्षक टेकप्रसाद राई समेतलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका समन्वय अधिकारी गजेन्द्रनाथ शर्माले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।