
काठमाडौं ।
‘डा. ओम फाउन्डेसन’ले सामुदायिक विद्यालयमा अध्ययनरत ६० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई सोमबार पहिलो चरणमा छात्रवृत्ति प्रदान गरेको छ । मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा स्थापित फाउन्डेसनले शैक्षिक सत्र २०८१ मा छात्रवृत्ति प्रदान गर्न गत माघ १७ गतेदेखि फागुन ५ गतेसम्म देशभरबाट कक्षा ६ देखि कक्षा ९ का विद्यार्थीबाट आवेदन माग गरेको थियो ।
पहिलो चरणमा कैलालीबाट तीन जना, बर्दियाबाट चार, गोरखाबाट चार, बझाङ, बाग्लुङ, तनहुँ, भक्तपुर, इलाम, म्याग्दी, सर्लाही, सुनसरी, दाङ, सिन्धुपाल्चोक, रौतहटबाट एक-एक जना, अर्घाखाँची, नुवाकोट र पाल्पाबाट दुई÷दुई जना, महोत्तरीबाट छ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन् ।
त्यस्तै ओखलढुंगा, काठमाडौं, दैलेख, कञ्चनपुर, बारा, बाजुरा, रुकुम पश्चिम जिल्लाबाट दुई÷दुई जना, सुर्खेत, सिराहा, कपिलवस्तु, नवलपुर (नवलपरासीपूर्व) , काभ्रेपलाञ्चोक, धनुषा,पर्सा, कास्की, कालिकोट, झापा, ताप्लेजुङ र दार्चुलाबाट एक÷एक जना गरी ३७ जिल्लाका ६० जना विद्यार्थीलाई छात्रवृत्ति प्राप्त गरेको छन् ।
पहिलो चरणमा छात्रवृत्ति प्राप्त गर्ने ६० जनामध्ये ४० छात्रा र २० छात्र छन् । जसमा मुस्लिम २ जना, थारु ५ जना, मधेसी १२ जना, दलित १३ जना, जनजाति १४ र अन्य समुदायका १४ जना विद्यार्थी रहेका छन् । प्रदेशगत प्रतिनिधित्व सुदूरपश्चिम प्रदेशबाट १५ प्रतिशत, कर्णालीबाट १० प्रतिशत, लुम्बिनीबाट १७ प्रतिशत, गण्डकीबाट १५ प्रतिशत, बागमतीबाट १२, मधेसबाट २१ प्रतिशत र कोसीबाट १० प्रतिशत रहेको छ ।
विपन्न तथा जेहेन्दार विद्यार्थी, अभिभावकविहीन, अभिभावक शारीरिक रूपमा अशक्त भएकाहरूलाई छात्रवृत्ति प्रदान गरिएको फाउन्डेसनका संस्थापक एवम् मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले जानकारी दिए ।
छात्रवृत्तिको रकम फाउन्डेसनले अभिभावक वा विद्यालयको खातामा सिधै जम्मा गरिदिनेछ, जसले एक वर्षको शैक्षिक सामग्री तथा विद्यालय पोशाक खरिद गर्न मद्दत गर्नेछ । फाउन्डेसनले शैक्षिक सत्र २०८१ मा छात्रवृत्ति प्रदान गर्न २० लाख रुपैयाँ रकम छुट्टाएको छ । आवेदन दिन छुटेका र पहिलो चरणमा नपरेका जिल्लालाई प्राथमिकता दिँदै प्रतीक्षा सूचीमा रहेका विद्यार्थीलाई क्रमशः छात्रवृत्ति प्रदान गरिने फाउन्डेसनले जनाएको छ । छुट भएकाहरुबाट पुनः आवेदन माग गरिनेछ । फाउन्डेसनले विभिन्न विद्यालयमा शैक्षिक सामग्रीलगायत आवश्यक सहयोग पनि गर्दै आएको छ ।
फाउन्डेसनको ‘स्कुल हेल्थ प्रोग्राम’
फाउन्डेसनले ‘स्कुल हेल्थ प्रोग्राम’ अन्तर्गत सरस्वती पूजाको सन्दर्भ पारेर गत वर्ष धुम्रपान तथा सुर्ती सेवनविरुद्ध विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको थियो ।
धुम्रपान र सूर्ती सेवनविरुद्ध विद्यार्थीमा सचेतना जगाउने उद्देश्यले गरिएको सो कार्यक्रमा जसमा देशभरका करिब ५ सय विद्यालयका १७ सय विद्यार्थी सहभागी भएका थिए ।
प्रेममा त्याग
प्रणय दिवसको सन्दर्भमा डा.ओम फाउन्डेसनले धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुई हप्ते (सन् २०२४ फेब्रुअरी १ देखि १४ तारिखसम्म) सचेतना मूलक अभियान ‘धुम्रपान गर्ने मान्छे स्वार्थी हुँदैनन्’ (स्मोकर्स आर नट सेल्फिस) कार्यक्रम गरेको थियो ।
‘मेरो एउटा सानो त्याग मायालुका लागि ठूलो उपहार’ भन्ने स्लोगनसहितको अभियानमा धुम्रपान तथा सुर्ती सेवन त्याग्ने प्रतिबद्धता व्यक्त गर्न स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको अभूतपूर्व सहभागिता रहँदै करिब १७ सय जनाले धुम्रपान तथा सुर्ती सेवन त्याग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसरी प्रतिबद्धता व्यक्त गर्ने २ सय जनाभन्दा बढीको निःशुल्क मुटु तथा अन्य स्वास्थ्य जाँच गरिएको थियो ।
न्यानो कपडा वितरण
फाउन्डेसनले शितलहरबाट जोगाउन २०८१ मंसिरमा ३५० घरपरिवारलाई ब्ल्याङ्केट (कम्बल) वितरण गरेको छ । फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिका–१० धमौरा क्षेत्रमा बसोबास गर्ने मुसहर, चमार र दुसाद समुदायका साथै अन्य विपन्न परिवारलाई चिसोबाट जोगाउन ब्लाङ्केट वितरण गरेको थियो।
त्यस्तै बुढानिलकण्ठ नगरपालिका–४ मा अवस्थित पवित्र समाज सेवा नेपालमा आश्रित बालबालिका र वृद्धवृद्धाहरूलाई न्यानो कपडा र खाद्यान्न सहयोग गरेको छ ।
उक्त संस्थामा १३ महिनादेखि २० वर्षसम्मका ६० जना बालबालिका र ९५ वर्षसम्मका १५ जना वृद्धवृद्धासहित छ जना स्वयम्सेवकलाई आवश्यकताअनुसार न्यानो कपडा प्रदान गरिएको थियो । जसमा ज्याकेट, बाक्लो मोजा, थर्मोकोल, बेबीसेटलगायतका न्यानो कपडा वितरण गरिएको छ ।
त्यस्तै चामल, आलु, मिक्स ड्राईफ्रुट, बिस्कुट, चाउचाउ, फाइभ स्टार चक्लेट, केकलगायतका खाद्य सामग्री र फुटबल, क्यारेमबोर्ड तथा लुडो जस्ता खेलकुद सामग्रीसमेत वितरण गरिएको थियो ।
निःशुल्क स्वास्थ्य शिविर
विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका मानिसलाई डा. ओम मूर्ति अनिलको व्यक्तिगत पहल तथा फाउन्डेसनमार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रदान गर्दै आएका छन् । ६ वटा ठूला निःशुल्क स्वास्थ्य शिविरसहित १० हजार जनाभन्दा बढीको निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण गरिएको छ । निःशुल्क मुटु स्वास्थ्य शिविरमा ईको, ईसीजी, सुगर प्रेसरलगायतको जाँच हुने गरेको छ ।
स्वास्थ्य तथा सुरक्षाकर्मीलाई तालिम
व्यक्तिगत पहल तथा फाउन्डेसनमार्फत दुर्गम र ग्रामीण क्षेत्रका स्वाथ्यकर्मीहरूलाई मुटुरोग तथा नसर्ने रोगसम्बन्धी विभिन्न तालिम सञ्चालन गरिँदै आएको छ ।त्यस्तै प्राकृतिक विपद्, दुर्घटना तथा अन्य घटनामा जनतासँग पहिलो र प्रत्यक्ष सरोकार राख्ने सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई कार्डियोपल्मोनरी रिसुसिटेसन (सीपीआर) तालिम प्रदान गरिँदै आएको छ ।
न्यून लागतमा अधिकतम् प्रतिफल
फाउन्डेसनले गर्ने हरेक गतिविधि न्यूनतम् खर्चमा अधिकम् प्रतिफल दिने गरी हुँदै आएको छ । लाभग्राहीको आवश्यकतालाई ध्यानमा दिँदै फाउन्डेसनले प्रशासनिक खर्चबिना नै कार्यक्रम गर्ने गरेको छ । विशेषगरी डा. ओम मूर्ति अनिलको स्वास्थ्य संस्था नेशनल कार्डियक सेन्टरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समेत संलग्नतामा निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्य हुने गरेको छ ।
फाउन्डेसनको स्थापना
सन् २०२३ मा डा. ओम फाउन्डेसनको स्थापना गर्नु अघि डा. ओम मूर्ति अनिलले व्यक्तिगत रूपमा सामाजिक कार्य गर्दै आएका थिए । फाउन्डेसन स्थापना भएपछि स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा फाउन्डेसनले विभिन्न कार्य गर्दै आएको छ । हालसम्म फाउन्डेसनले बाह्य सहयोग लिएको छैन । अहिलेसम्म डा. ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त रकम र उनको व्यक्तिगत सहयोगबाट कार्यक्रमको आर्थिक व्यवस्थापन हुँदै आएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।