
म्याग्दी।
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनको नतिजा अनुसार देशैभर द्वितीय हुन सफल भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको अन्तिम नतिजामा बेनी नगरपालिकाले देशैभरमा द्वितीय स्थान हासिल गरेको हो ।
सार्वजनिक भएको कार्यसम्पादन मूल्याङ्कन अनुसार बेनी नगरपालिका द्वितीय भई ८१ दशमलव १७ अङ्क पाएको छ भने प्रथम हुने डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाले ८१ दशमलव ६६ अङ्क पाएको छ । यसैगरी आयोगले गरेको मूल्याङ्कनको नतिजामा इलामको सूर्योदय नगरपालिकाले ८० दशमलव १५ अङ्कसहित तृतीय र अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ८० दशमलव १३ अङ्क पाएर चौथो स्थान कायम गरेको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनको नतिजा अनुसार म्याग्दीको मंगला गाउँपालिकाले ६९ दशमलव ४९, रघुगंगाले ६९ दशमलव ३५, मालिकाले ६८ दशमलव ७५, अन्नपूर्णले ५९ दशमलव ९६ र धवलागिरि गाउँपालिकाले ४० दशमलव ८३ अङ्क पाएका छन् । आयोगले देशभरका स्थानीय तह र सातवटा प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ मा गरेका कार्यसम्पादनलाई १७ वटा सूचकहरुको आधारमा रहेर अन्तिम मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेको जनाएको छ । सोहीअनुसार आयोगले हरेक वर्ष कार्यसम्पादनको मूल्याङ्कन गरेर अङ्क प्रदान गर्दै आइरहेको छ ।
आयोगले स्थानीय सरकारले हरेक वर्ष असार १० गतेभित्रै आगामी आर्थिक वर्षको लागि आयव्ययसहितको अनुमानित बजेट सम्बन्धित गाउँ तथा नगरसभामा पेस गरे-नगरेको, आगामी आवको राजश्व र व्ययको अनुमान असार मसान्तभित्र पारित गरे÷नगरेको, स्थानीय तहले सङ्कलन गर्ने घरजग्गा रजिष्टेशन शुल्क, मनोरञ्जन तथा विज्ञापन करवापत उठेको रकममध्ये ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे-नगरेको, आयव्यय पक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे-नगरेको विषयमा आधारित रहेर कार्यसम्पादनको मूल्याङ्कन गर्ने गर्दछ ।
यसैगरी आयोगले स्थानीय तहले आर्थिक वर्ष २०८१-०८२ को बजेट कार्यान्वयन वार्षिक समीक्षा गरी त्यसको विवरण कार्तिक मसान्तभित्र सार्वजनिक गरे-नगरेको, स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र राजश्व परिचालनको अवस्था, गत आवमा विनियोजित रकमअनुसार खर्चको अवस्था, आव ०७९÷८० मा कुल लेखापरीक्षणबाट औल्याएका बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)को प्रयोग गरे-नगरेको, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे-नगरेको, शैक्षिक सत्र २०८१ मा कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समूहका विद्यार्थी खुद भर्नादर, शैक्षिक सत्र २०८० मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउदर तथा स्वास्थ्यसम्बन्धी विभिन्न सूचकहरुलाई आधार बनाएर मूल्याङ्कन गरको जनाएको छ ।
बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले पारित भएको बजेट र आवधिक योजनामा छुट भएको विवरणलाई वित्त आयोगले तोकेको समय सीमाभित्र पेस गरेको आधारमा कार्यसम्पादनको मूल्याङ्कनमा अङ्क बढेको बताए । सीमित स्रोतसाधनका बाबजुद पनि नगरपालिकाले प्रभावकारी कार्यसम्पादन गरेको बताउँदै उनले यसमा जनप्रतिनिधि, कर्मचारी र नगरवासी सबैको सहयोग मिलेको बताए।
आयोगले गरेको मूल्याङ्कनमा उत्कृष्ट अङ्क आएको हुँदा नेपाल सरकारले स्थानीय तहलाई उपलब्ध गराउने समानीकरण अनुदानको बजेटमा वृद्धि हुने बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । समयमा नगर सभामा बजेट पेस तथा समयमै पारित, खर्चको अख्तियारी र आर्थिक अनुशासन कायम गर्दै बेरुजु न्यूनीकरणमा ध्यान दिइएको हुँदा कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा आएको उनको भनाइ छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।