
चरिकोट।
एचपिएन यूके र एचपिएन नेपालको आयोजना तथा च्छो –रोल्पा जनरल अस्पताल चरिकोटको सहकार्यमा ‘भर्खर जन्मेका बच्चा र सुत्केरी पछि आमाको स्वास्थ्य परीक्षण’ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
तालिममा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । नवजात शिशु तथा एक वर्ष मुनिका बालबालिकाहरुको जटिल रोग पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा नवजात शिशुको स्याहार र सुत्केरी पछि आमाको स्यहारमा स्वास्थ्यकर्मीको सहयोग लगायतको विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिमका सहभागीहरुलाई एचपिएन यूकेका डाक्टर मिलिना, च्छो –रोल्पा जनरल अस्पतालका मेडिकल डाइरेक्टर डक्टर विनोद दंगाल, डक्टर सतिश निरौला, स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तमराज खनाल लगायतले प्रशिक्षण दिएका थिए ।
यसैबीच सदरमुकाम चरिकोटमा रहेको च्छो –रोल्पा जनरल अस्पतालबाट २५ जनाले निःशुल्क निःसन्तान परार्मश सेवा लिएका छन् । अस्पतालमा सञ्चालन भएको शिविरमा २५ जनाले सेवा लिएको मेडिकल डाइरेक्टर डक्टर विनोद दंगालले बताए । इन्दिरा आइभिएफको बाँझोपन विशेषज्ञ डाक्टर नेहा हुमागाईँले निःसन्तान सम्बन्धी निःशुल्क परार्मश सेवा दिएकी थिइन् ।
बाँझोपनको समस्या महिला र पुरुषमा समान रुपमा हुने उनले बताइन् । डा. नेहाका अनुसार कुनै कारणवस दम्पतीसंगै बस्न नपाउँदा, बढीमात्रामा धुम्रपान, रक्सी, सुर्ती सेवन गर्दा र विवाह तथा सन्तान योजनामा ढिलाई गर्दा उक्त समस्या देखिन्छ । यो समस्या समाधानको लागि दम्पती दुवैजनाको स्वास्थ्य परीक्षण र उपचार जरुरी रहेको उनले बताइन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।