
उदयपुर ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगढामा यही चैत्र ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ ।
क्याम्पस प्रशासनले क्याम्पसमा भर्ना भएका विद्यार्थीहरुको विवरण दुरुस्त नराखेका कारण नेपाल विद्यार्र्र्र्थी संघले सो सम्बन्धमा विरोध जनाएपछि क्याम्पस प्रशासनको लापरबाही भएकोले मतदाता नामावलीमा केही विद्यार्थीको कागजात अपुरो भएपछि नामावली समावेश गर्न नसक्दा निर्वाचन नै स्थगित भएको हो ।
यस विषयमा त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगढाका क्याम्पस प्रमुख सह प्राध्यापक डा.कैलाश कुमार राईले ११ जना विद्यार्थीको भर्ना हुदाका समयमा केही कागजात अपुग भएको र पछि पेश गर्नेगरी भर्ना भएकोमा नेवि संघले कागजात पुरा पेश नगरी भर्ना भएकोले त्यस्ता विद्यार्थीको नाम मतदाता सुचीबाट हटाउनु पर्ने भनेको र अनेरास्ववियु समाजवादीका विद्यार्थीहरुले ११ जनालाई निर्वाचन सहभागी गराउनु पर्ने माग राखेकोमा त्रिविविको निर्वाचन निर्देशिकामा यस्ता विद्यार्थीलाई सहभागी गराउने व्यवस्था नभएकोले विद्यार्थी संगठनकै कारण पनि निर्वाचन स्थगित भएको बताए ।
कागजात अपुग भएका र प्रक्रिया पुरा नगरेका विद्याथीहरुलार्ई भर्ना गरेकोमा नेवि संघले विरोध जनाउँदै फर्जि विद्यार्थीलाई मतदाता सूचिमा राखेको आरोप लगाएको छ । क्याम्पस प्रशासनले विद्यार्थी भर्ना गर्दा विद्यार्थीहरुबाट आवश्यक सम्पूर्ण कागजात लिएर प्रक्रिया पुरा गरेर भर्ना गर्नु पर्नेमा सो नगरी आवश्यक कागजात पछि आवश्यक परेका समयमा बुझाउँदा पनि हुने व्यवस्था गरेकोले नेवि संघ निर्वाचन प्रक्रियामा जान नमानेको बताइएको छ ।
कुल १ हजार ५ सय ३ जना मतदाता रहेको यस क्याम्पसमा अनेरास्ववियु एकिकृत समाजवादीको विद्यार्थी संगठनले भने कागजात पुरा नभएका तर भर्ना भएका विद्यार्थीहरुलाई पनि निर्वाचनमा सहभागी गराउन मतदाता नामावलीमा नाम राख्नु पर्ने मागदावी गरेका छन् । तर त्रिविवि स्ववियु निर्वाचन निर्देशिकामा भने त्यस्ता विद्यार्थीलाई स्ववियु निर्वाचनमा सहभागी गराउने व्यवस्था नगरेकोले विद्यार्थी संगठनका विचमा पनि विवाद भएपछि निर्वाचन स्थगित भएको क्याम्पस प्रशासनले जनाएको छ ।
सो क्याम्पसका पूर्व क्याम्पस प्रमुख रमेशचन्द्र रोकाले अब त्रिविविको निर्वाचन निर्देशिका विपरीत नहुनेगरी सबै विद्यार्थी संगठन र कयाम्पस प्रशासन विचमा बैठक बसेर सहमतीमा गएर स्ववियुको निर्वाचन गराउनुको विकल्प नरहेको बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।