
बाँके ।
डुडुवा गाउँपालिका वडा नं. ६ का स्थानीयवासी जयेन्दु बालसुधार गृह हटाउन माग राख्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् ।
आसमानपुरमा रहेको बालसुधार गृहमा पटक–पटक झडप भइरहने र गाउँमा पुगेर बालबन्दीले लुटपाट गर्ने कार्य हुन थालेपछि स्थानीयले बालसुधार गृह नै त्यहाँबाट हटाउन माग गरेका हुन् । गएको शुक्रवार राती र शनिवार भएको झडप, तोडफोड, आगजनी र गाउँमा लुटपाटपछि त्रसित भएका स्थानीयवासी आइतबार नेपालगञ्जमा आएर प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भेटेर उक्त माग राखेका हुन् ।
वडाध्यक्ष मोहनराम मिश्रसहितको दुई दर्जनबढी व्यक्ति नेपालगञ्ज आएर बालसुधार गृह हटाउन माग गरेका थिए । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बालसुधार गृह हटाउने विषयमा आफूले कुनै लेखापढी गर्न नसक्ने बताएपछि छलफल त्यसको व्यवस्थापनतिर मोडिएको थियो । त्यसपछि विकल्पको रूपमा बालसुधार गृह परिसरमा अस्थायी प्रहरी चौकी राख्ने कुरा भएको छ ।
यो विषयमा प्रमुख जिल्ला अधिकारी सकारात्मक भएका छन् । प्रमुख जिल्ला अधिकारीले अगाडि बढाएमा आफूहरूले साथ दिने प्रहरीको भनाइ छ । अहिले बालसुधार गृहमा हतियारबिनाका १२ जना प्रहरी छन् । बालसुधार गृहको सुरक्षार्थ नभनेर अस्थायी चौकीको रूपमा त्यहीँ नजिक राख्दा अहिलेजस्तो बालबन्दीको मनोमानी नहुने सबैको बुझाइ छ ।
वडाध्यक्ष मिश्रले भन्नुभयो, ‘बालसुधार गृह परिसरमा अस्थायी चौकी राख्न सकियो भने त्यहाँ हतियारसहितका प्रहरी हुन्छन् । बालबन्दीहरू अहिलेजसरी जतिबेला पनि बाहिर निस्किेर मनोमानी गर्न पाउँदैनन् । प्रहरीले बाहिर निस्किन दिँदैन, कोही निस्केमा भित्रपस्दा जाँच गर्छ । यसो गर्दा लागु औषध भित्र जान पाउँदैन । सुरक्षा व्यवस्था राम्रो हुन सक्छ ।’
अहिले बालबन्दीले जे भन्यो प्रहरीले त्यही गर्नुपर्ने अवस्था रहेको छ । स्थानीयका अनुसार, बालबन्दी राती मदिरासेवन गर्न गाउँमा निस्किन्छन् । बालसुधार गृहभित्रै लागु औषधी पुग्छ । तराईमा गर्मी शुरू भइसकेको छ । अत्यधिक गर्मीले गर्दा गाउँघरमा बाहिर आँगनमा खटिया राखेर सुत्ने गरिन्छ । बाहिर सुतेको बेलामा नशामा झुमेका बालबन्दीले आएर केही गरिदिएमा त्यसको जिम्मेवारी कसले लिने ? स्थानीयले भनेका छन्, बालबन्दी बाहिर निस्किने वातावरण दिनु भएन ।’ त्यसो त बालसुधार गृहमा अधिकांश जबरजस्ती करणी मुद्दाका दोषी छन् । त्यसपछि कर्तव्य ज्यान, लागु औषध र चोरीका धेरै छन् ।
यसैबीच, शुक्रवार राती र शनिवार दिउँसोसम्म झडप, आगलागी, लुटपाटमा संलग्न भएका बालबन्दीलाई थप मुद्दा लगाउने तयारी भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले हिंसामा उत्रिएका बालबन्दीलाई अपराधअनुसारको थप कारबाही गर्ने तयारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता एवं डीएसपी दिपक पातलीले प्रहरी कुट्ने, झडपमा उत्रिने, आगो लगाउने, गाउँमा लुटपाट गर्नेलाई अनुसन्धान गरेर अर्को मुद्दा लगाउने तयारी भइरहेको बताउनुभयो । बालबन्दीले प्रहरीको एउटा मोटरसाइकल गायब पारिदिएका छन् भने बालसुधार गृहमा कार्यरत कर्मचारीको स्कुटीको हेल्मेट लगेका छन् भने स्कुटी तोडफोड गरिदिएका छन् ।
झडपमा घाइते भएका सबै डिस्चार्ज भइसकेका छन् । प्रहरीले २४ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेको छ भने ४० जनालाई नौबस्तास्थित बालसुधार गृहमा पठाएको छ । अब जयेन्दु बालसुधार गृहमा १८ वर्ष उमेरका बालकहरू रहेका छन् । १८ वर्षमाथिका ७६ जनालाई बाहिर निकालिएको छ ।
उमेर बढी भएको हकमा कसरी अगाडि बढ्ने विषयमा कारागार विभागसँग सोधनी भइरहेको छ । २७÷२९ वर्षका युवालाई बालबन्दीको नाममा बालसुधार गृहमा राख्दा उसले सानालाई दबाएर राख्ने र आफूले राज चलाउने गर्दा झडप हुने गरेको छ । ठूलो झडप हुँदामात्रै घटना बाहिर आउने गरेको छ । सानातिना कुटपिट, हानाहान त बालसुधार गृहमा दैनिक हुने गरेको सम्बद्ध कर्मचारीहरू नै बताउँछन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।