
भैरहवा ।
रुपन्देही जिल्लामा एसईईको पहिलो दिनको परीक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।
जिल्लाका ६० वटा परिक्षाकेन्द्रहरु रहेको रुपन्देही जिल्लामा २३ हजार ६ सय ६० जना विद्यार्थीहरुको सहभागिता रहेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका सूचना अधिकृत अम्बर केसीले जानकारी दिए । परीक्षामा रेगुलर तर्फ १७ हजार ३ सय ३० मध्ये १७ हजार २ सय १७ जना विद्याथीहरुले परीक्षा दिएको र ११३ जना विद्यार्थी अनुपस्थिति रहेको शिक्षा अधिकृत केसीले जनाए ।
यसैगरी अपाङ्ग भएका विद्यार्थीहरु पूर्ण रुपमा हात नचल्ने र दृष्टि विहीन विद्यार्थीहरु गरी १५ जना विद्यार्थीले सहयोगी विद्यार्थीको रुपमा कक्षा ९ का विद्यार्थीको सहयोगले परीक्षा दिएका छन । उनीहरूको अवस्था हेरेर आधा घण्टा समय थप गरिएको पनि शिक्षा अधिकृत केसीले बताए ।
साथै, कारागार र बालसुधार गृहबाट ८ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त विद्यार्थीहरुको परीक्षा केन्द्र भैरहवा नमुना मा.वि भएपनि उनीहरुले आफू रहेकै स्थानबाट परीक्षा दिने व्यवस्था मिलाइएको थियाे ।
यसैबीच रुपन्देहीको सिद्धार्थनगर नगरपालिका -८ मा रहेको परीक्षा केन्द्र लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी फेला परेको विद्यालयका प्राचार्य रूप कुमार रायमाझीले जानकारी दिए । उनका अनुसार परीक्षा चलिरहेको बेला प्रवेश पेपरमा हस्ताक्षर गर्न जाने बेला प्रवेश पत्रमा भएको तस्बिर र परीक्षार्थीको अनुहार नमिले पछि सोधपुछ गर्दा नक्कली विद्यार्थी भएको पाइएको हो ।
तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत एक विद्यार्थी सिद्धार्थनगर नगरपालिकामा रहेको सु-संस्कृत माध्यमिक विद्यालयका एक विद्यार्थीको परीक्षा दिनका लागि आएको पाइएको प्रfचार्य रायमाझीले बताए । उक्त विद्यार्थीको ग्रेड वृद्धिको परीक्षा आज मात्र रहेको र त्यसैमा पनि नक्कली परीक्षार्थी प्रयोग भएको पाइएपछि उक्त विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको प्राचार्य रायमाझीले जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।