
काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्बभन्दा बढी रकमको बजेट पेश गर्ने भएको छ ।
एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४ सय ५० रुपैयाँ ४८ पैसा पेश गरिने कार्यसमिति बैठकले निर्णय गरेको हो ।
एन्फाले आर्थिक वर्ष २०८०-८१ को लेखापरीक्षण प्रतिवेदन पनि कार्यसमितिबाट पारित गरेर साधारण सभामा पेस गर्ने निर्णय गरेको छ । यसबाहेक बैठकले ग्रासरुट फुटबल कार्यक्रमका लागि आवश्यक पर्ने खेल सामाग्री स्थानीय आपूर्तिकर्तासँग खरिद गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, म्याट रोसलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय पनि भएको छ । पियुष न्यौपानेलाई भने अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको जिम्मेवारी दिइएको छ । न्यौपाने हाल नेपाल सुपर लिग टोली काठमाडौं रेजर्सको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन् ।
त्यसैगरी सोही बैठकले एन्फाका पूर्व अध्यक्ष गणेश थापाले फिफाको निर्देशन उल्लंघन र अन्य गतिविधिहरुलाई आवश्यक अनुसन्धान तथा छानविन गरी कारवाहीको लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकताअनुसार पत्राचार गर्ने निर्णय गरेको छ ।
योसँगैं वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य व्यक्ति उपर गम्भीर प्रकृतिका उजुरीलाई सम्बन्धित निकायमा छानविन गरि निर्णयका लागि पत्राचार गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।