
काठमाडौं ।
विद्युतीय स्कुटर एथरको नयाँ मोडल नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि एथर ब्राण्डको आधिकारिक आयातकर्ता तथा विक्रेता वैद्य इनर्जीले एथरको नयाँ मोडल शनिबार सार्वजनिक गरेको हो । कार्यक्रम गर्दै कम्पनीले ‘४५०एक्स’ र ‘४५०एस’ मोडेलका इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो ।
‘बाइक्स अफ स्कुटर’ उपनाम दिइएको एथर ४५० एक्स बहु–मोड ट्र्याक्सन कन्ट्रोलसहित उपलब्ध हुने कम्पनीले जनाएको छ । यो सुविधाले स्कुटरलाई थप सुरक्षित, प्रभावकारी र सुविधाजनक बनाउने कम्पनीको दाबी छ । “बहु–मोड ट्र्याक्सन कन्ट्रोल प्रणालीले पक्की वा चिप्लो सडकमा स्कुटरको पछिल्लो पांग्रालाई अगाडिको पांग्रासँग तालमेल मिलाउन मद्दत गर्छ । यसले स्कुटरलाई थप स्थिरता र नियन्त्रण प्रदान गर्छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस सुविधाले सहरको ट्राफिकदेखि अफ–रोड यात्रासम्म आत्मविश्वासका साथ सवारी गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ । ट्याक्सन कन्ट्रोलका तीन मोडहरू उपलब्ध छन्– रेन मोड, रोड मोड र र्याली मोड । स्कुटरको दायरा सुधार गर्न यसमा नयाँ टायर प्रविधि प्रयोग गरिएको छ । एथरले एमआरएफसँग सहकार्य गरी नयाँ मल्टि–कम्पाउन्ड टायरहरू विकास गरेको छ । यसअनुसार ब्रेक लगाउँदा ऊर्जा क्षति कम गर्ने र ऊर्जा खपतलाई अनुकूल बनाउने कम्पनीले उल्लेख गरेको छ ।
एथरले नयाँ एथर स्ट्याक ६ सफ्टवेयर पनि ल्याएको छ ।
यसले गुगल म्याप्स इन्टीग्रेसन, अलेक्सा भ्वाइस असिस्टेन्ट सपोर्ट, ह्वाट्सएप नोटिफिकेसन ड्यासबोर्ड, ‘पिङ माइ स्कुटर’ सुविधा र लाइभ लोकेसन सेयरिङ जस्ता सुविधा प्रदान गर्छ । वैद्य इनर्जी प्रा.लि.का सीईओ सूर्यांश वैद्यले भने, “नेपालमा एथर स्कुटरहरू पछिल्ला डेढ वर्षदेखि ग्राहकले अत्यधिक रुचाएका छन् । अब, हामी २०२५ एथर ४५० लाई बहु–मोड ट्याक्सन कन्ट्रोलसहित प्रस्तुत गर्दैछौँ । यसले सुरक्षासँगै प्रदर्शन पनि बढाउनेछ । प्रिमियम मोटरसाइकलहरूमा मात्र पाइने यस्ता विशेषता अब हाम्रो स्मार्ट स्कुटरमा उपलब्ध छन् ।”
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।