
काठमाडौं ।
१७ वर्षअघि व्यक्ति हत्या गरेर फरार भएका एक जनालाई साधुको भेषमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । २०६४ वैशाख २५ गते अभियुक्त लोकनाथ साहले पर्साको तत्कालीन बहुअर्वाभाठा गाउँ विकास समिति–५ बस्ने ढोडा मुखियालाई जग्गासम्बन्धी विवादमा गोली हानेर हत्या गरेर फरार भएका थिए ।
साहले विवादित जग्गाको विषयमा बसेर छलफल गरेर समाधान गर्ने भन्दै मुखियालाई बोलाएर गोली हानी हत्या गरी भारततर्फ फरार भएका थिए । उक्त मुद्दामा सर्वोच्च अदालतले २०६९ कार्तिक २४ गते साहविरुद्ध जन्मकैद ठहर गरेको थियो । नेपालबाट भागेर भारत पुगेका साह विहारको पम्पारण पिपरियास्थित रामजानकी मन्दिरमा पुजारीका रूपमा १० वर्षदेखि साधुको भेषमा उक्त मन्दिरमा बस्दै आएको अवस्थामा पक्राउ गरेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभयो ।
अभियुक्त साह उक्त मन्दिरमा लुकेर बसेको थाहा पाएपछि भारतीय प्रहरीको समन्वयमा प्रहरी मन्दिरमा पुगेर साहलाई पक्राउ गरेर नेपाल ल्याएको थियो । पक्राउ परेका साहलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।