दाङ
प्रदेश र संघको निर्वाचनका लागि उम्मेदवारहरु छान्न जिल्ला स्तरमा राजनीतिक दलहरुलाई भ्याइ नभ्याइ भएको छ। भरखरै मात्र स्थानीय निर्वाचन र उम्मेदवारले पारेको प्रभावले दलहरुलाई संघ र प्रदेशको निर्वाचनको लागि उम्मेदवार छान्न सकस समेत देखिएको छ।
आगामी मंसिर २१ गते हुने संघ र प्रदेशको चुनावका लागि दाङका राजनीतिल दलहरुले पनि आफना तर्फका उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गर्न थालेका छन्। कतिले टुङगो समेत लगाइ सकेका छन्।
दाङमा क्रियाशिल तीन प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आफना सम्भावित उम्मेदवारहरुलाई केन्द्रमा सिफारिस गरेको जनाएका छन्। तिनै दलका सम्भावित सिफासिर उम्मेदवारमा पुरानै अनुहारको हावी देखिएको छ।
केन्द्रमा जाने तीनै दलका सम्भावित उम्मेदवारहरुमा विगत देखिनै नेतृत्वमा रहेका पुराना अनुहारहरु बढि रहेका छन् । काँग्रेसले क्षेत्रीय समितिले सिफारिस गरेका सबै नाम केन्द्रमा पठाएको छ भने एमाले माओवादीले जिल्लाले हेरफेर गरेर केन्द्रमा नाम पठाएको बताएको छ।
काँग्रेसले प्रतिनिधि र प्रदेश सभाको लागि संभावित क्षेत्रवाट आएका नामहरु नै केन्द्रमा पठाएको कांग्रेसका जिल्ला सचिव शंकर डाँगीले जानकारी दिए। काँग्रेस जिल्ला कार्य समितिको बैठकले प्रतिनिधिसभाका लागि पार्टीका तीन निर्वाचन क्षेत्र र प्रदेशसभाका छ वटा निर्वाचन क्षेत्रवाट पार्टी केन्द्रीय समितिलाई नाम पठाइसकेका बताए।
काग्रेसले संघ र प्रदेशका लागि प्राय पुरानै अनुहारलाई सिफारिस गरेको छ। पुर्व मन्त्री देखि वर्तमान सासद सम्मका पुरानै नामलाई सिफासिर गरेर पठाएको छ।
दाङ काग्रेसले केन्द्रका लागि पूर्व मन्त्री खुम बहादुर खडका, दिपक गिरी, वर्तमान राज्य मन्त्री डिल्ली बहादुर चौधरी, सासदहरु राजु खनाल, अनिता देवकोटा, बुद्धिराम भण्डारी, शिला शर्मा खडका, शुशीला चौधरी पार्वती डिसी चौधरी, पुर्व सासद कृष्ण किशोर घिमिरे लगायतका नाम सिफारिस गरेको छ । त्यसै गरेर पुर्व जिल्ला सभापति घनश्याम रेग्मी, विरकेश्वरी गौतम, वर्तमान जिल्ला सभापति कृति बहादुर खडका सचिव शंकर डागीको नाम सिफासिरमा राखिएको छ।
एमाले दाङले पुर्व मन्त्री तथा उपाध्यक्ष युवराज ज्ञवाली, पुर्व मन्त्री शंकर पोख्रेल, सासद शारदा स्वर्णकार, भागवत विश्वासी, अनारकली मिया, पुर्व जिल्ला अध्यक्ष जोग बहादुर राना, केन्द्रीय सदस्य मेटमणि चौधरी, जिल्ला अध्यक्ष टिकाराम खडका, सचिव हिराचन्द्र केसी लगायतको नाम प्रत्यक्ष सिफारिस गरेको छ।
माओवादी केन्द्रले पनि पुरानै अनुहारहरुलाई अघि सारेको छ। माओवादीका सह इन्चार्ज निर्मल आचार्यका अनुसार परराष्ट्रमन्त्री कृष्ण बहादुर महरा, पुर्व सभासद कुवेर ओली, इन्द्रजित थारु, नारायण शर्मा पौडेल, सह इन्चार्ज निर्मल आचार्य, जगप्रसाद शर्मालाई अघि सारेको छ।
माओवादी— एमाले तालमेलको सहमति भए पनि दुइ दलले छुट्टा-छुट्टै उम्मेदवार सिफारिस गरेका छन्। यति सम्मकी कृष्ण बहादुर महरा र शंकर पोख्रेल एउटै क्षेत्रबाट सिफारिस भएका छन्।
२०७० सालको संविधान सभाको निर्वाचनमा शंकर पोख्रेल स्थानीय काग्रेस नेता संग पराजित भएका थिए। भने महराले २०६४ सालको निर्वाचनमा सोहि क्षेत्रबाट निर्वाचित भएका थिए । यि दुबै जनाले दाङ क्षेत्र नं २ रोजेका छन्।