
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेलाई शुक्रवार पक्राउ गर्ने क्रममा प्रहरीले अस्वाभाविक, अशोभनीय र गैरकानुनी हर्कत देखाएको भन्दै त्यसबारेमा राष्ट्रिय मानवअधिकार आयोगसमक्ष ध्यानाकर्षण गराएको छ ।
रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, वागमती प्रदेश सभापति अच्युतम लामिछानेसहितका नेताहरू पुल्चोक हरिहर भवनस्थित राष्ट्रिय मानवअधिकार आयोग पुगेर ध्यानाकर्षण गराएका हुन् । प्रहरीको ज्यादतीले लामिछानेको सम्मानपूर्वक बाँच्न पाउने अधिकारमात्र उल्लंघन नभएको नभई जिउज्यानसमेत असुरक्षित भएको सो पार्टीले भनेको छ । ‘सभापतिमाथि भएको प्रहरी ज्यादती र मानवअधिकार हननको घटनाविरुद्ध पार्टीको तर्फबाट उहाँको मानवअधिकार रक्षार्थ राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिइएको हो’ – बुर्लाकोटीले भन्नुभयो ।
सुप्रिम सहकारी ठगी प्रकरण र संगठित अपराध मुद्दामा जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत शुक्रवार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । सो आदेश जिल्ला अदालत रूपन्देही हुँदै कार्यान्वयन गर्नुपर्ने कानुनविद्हरूको जिकिर गरिरहेका बेला आदेशलगत्तै त्यही दिन राति नै काठमाडौंको बूढानीलकण्ठस्थित लामिछानेको घरमा प्रहरी पुगेको थियो ।
त्यस क्रममा ठूलो संख्यामा हतियारसहितका प्रहरी परिचालन गरिएको थियो । प्रहरी लामिछानेको घरमा जाँदा उच्च अदालतको प्रमाणित आदेश वा सो आदेश कार्यान्वयनका लागि प्रक्रिया पुगेको कुनै कागजात नभएको र घर कम्पाउन्ड प्रवेश गर्ने सर्च वारेन्ट वा पक्राउ गर्ने सामान्य पुर्जी पनि प्रहरीसँग थिएन । ध्यानाकर्षणपत्रमा यो विषयसँगै प्रहरी अधिकृतले अपमानजनक व्यवहार र शब्द प्रयोग गरेको पनि भनिएको छ ।
‘साँझको समय भएकाले उहाँ परिवारसहित शयन कक्षमा हुनुहुन्थ्यो । त्यति बेलासम्म उच्च अदालतको आदेशबारे मिडियामा समाचार आइसकेकाले उहाँले अदालतको आदेशको सम्मान गर्दै आफैं गिरफ्तारी दिने घोषणा गरिसक्नुभएको थियो । तर, प्रहरी टोली घरको बैठककोठा वा प्रतीक्षा कक्षमा नगई, त्यहाँ बस्न आग्रह गर्दासमेत अटेर गरी सीधै माथिल्लो तलामा भएको शयनकक्षमै पुगेर धरपकड गर्न थालियो’ –ध्यानाकर्षणपत्रमा भनिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।