
पाल्पा।
चैत २२ गतेदेखि सञ्चालन गरिएको दोस्रो पाल्पा महोत्सव स्थगित गरिएको छ । बुधवार दिउँसो र राती हुरीबताससहित आएको वर्षाका कारण पाल्पामा जारी दोस्रो तानसेन महोत्सव प्रभावित भएको हो । तानसेनको कृषि, रोजगार, पर्यटन तथा व्यापारलाई लक्षित गरी आगामी वैसाख ३ गते सम्मका लागि तानसेन नगरपालिकाको मुख्य आयोजनामा यो मेला आयोजना गरिएको थियो ।
बुधबार दिउँसो कार्यक्रमको तयारी भइरहेका बेला अचानक वर्षा र हुरीबतास चलेपछि महोत्सवमा भाग दौड मच्चिएको थियो महोत्सवमाा आफ्नो प्रस्तुति देखाउन आएका स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारसमेत आफ्नो कला देखाउनबाट वञ्चित भए । असिनासहित वर्षा भएपछि महोत्सव हेर्न भेला भएका हजारौँ दर्शकहरुमा भागदौड मच्चिएको थियो ।
वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगन गरिएकोमा बुधवार राति नै ठूलो हुरीबतास र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबारलगायतमा क्षति पुगेको छ । त्यसले गर्दा महोत्सव नै अनिश्चित बनेको छ । महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका सामानसमेत हावाले उडाएको व्यापारीले बताएका छन् । हुरीबतासले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा ठूलो क्षति पुगेकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गरिने पाल्पा व्यापार सघका अध्यक्ष विष्णुबहादुर कार्कीले वताए । कार्कीका अनुसार महोत्सवमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वारमा क्षति पुगेको र क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ ।
तानसेन नगरपालिकाको मुख्य आयोजना, पाल्पा व्यापार सङ्घको आयोजना, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश, घरेलु तथा साना उद्योग पाल्पाकोे सहआयोजना तथा एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालि भरतपुर चितवनको व्यवस्थापनमा महोत्सव चलेको हो । महोत्सवमा ३०० भन्दा बढी स्टल राखिएका छन् ।
हावाहुरी सहितको वर्षाले महोत्सव स्थलमा क्षति र स्टेज लगायत स्टलका छानो समेत हुरीले उडाएको कारणले महोत्सव स्थलको पुर्न व्यवस्थापन गर्नका लागि अन्य कार्यक्रम स्थगित गरिएको र आगामी सूचना जारी भएपछि मात्र महोत्सव निरन्तर चल्ने आयोजक संस्था पाल्पा ब्यापार संघका महासचिव तुल बहादुर अधिकारीले बताए ।
टुँडिखेल मैदानमा पानी जमेका कारण लगाइएका कार्पेट तथा सजावट सामाग्री समेत जलाम्मे भएको छ । व्यापारीहरुले हावाहुरी र वर्षाका कारण करौडों क्षति भएको वताएका छन् । आयोजक र प्रशासनले स्थलगत अनुगमन गरी क्षतिको विवरण संकलन गर्ने र मेलालाई कसरी अगाडि बढाउने विषयमा छलफल भइरहेको जनाएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।