
भक्तपुर ।
आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट (बिस्का) जात्रा बिहीबारदेखि सुरु भएको छ । भक्तपुरको टौमढी क्षेत्रस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर जात्रा सुरु गरिएको हो ।
भैरबनाथको पूजा सुरु भएसंगै सुरु हुने यो जात्रामा दिउँसो स्थानीयको पूजा सकिएर गुठी कार्यालयले ल्याएको सरकारी पुजा सकिएपछि रथ तानेर जात्रा सुरु भएको हो । तीनतले भैरवनाथको रथ र भद्रकालीको दुईतले सानो प्यागोडा शैलीकै रथ तान्न सुरु गरिएको छ ।
बिहानैदेखि भैरव मन्दिरमा जात्रा सञ्चालक आकाश भैरव गुठी तथा भद्रकाली गुठीका रकमी तथा भैरव मन्दिरका पुजारीहरुको संलग्नतामा भैरवको नित्यपूजा सम्पन्न भएपछि रथ तान्न सुरु गरिएको थियो ।
लामा तथा मोटा आठवटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २ सय मिटर दक्षिण गःहिटी पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ ।
जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पु¥याइ फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पु¥याएपछि पहिलो दिनको रथयात्रा विसर्जन गरिन्छ ।
चैत्र मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो् उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहे अनुसार यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।
किम्वदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले ति राजकुमारीसंग विहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग विहे गर्न धेरै कुमारहरू आए तर जसले राजकुमारीसँग विहे गर्थे ऊ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो । राजाले आफ्नो सयनकक्षबाट हरेक बिहान लास उठाई मसानघाटसम्म पु¥याउने मलामी गुठी नै संचालनमा ल्याएका थिए ।
एकदिन एक बलवान् राजकुमारले राजकुमारीसँग विहे गरे । राती राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्नेगरी जात्रा चलाइदिनू भनेको भनाई छ । भोलिपल्ट सधैँझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुइटा नाग–नागिनी मरेको देखेर सबै खुसी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतीलक गरिदिए ।
अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुसीयालीका साथ यो जात्रा मनाउन थालिएको र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा ठड्याउने गरेको भनाई छ ।
बिस्का जात्रा शान्तिपूर्ण बनाउन सद्भाव र्याली गरिएको छ । जात्राको क्रममा हुनसक्ने सम्भावित घटना तथा झडपलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।