
काठमाडौं ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन प्यानलका अध्यक्षका उम्मेदवार भुवनसिंह गुरुङ ६१ मतको अन्तरले विजयी हुनुभएको छ । गत शुक्रवार भएको निर्वाचनमा म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक गुरूङ विजयी हुनुभएको हो । यसअघि संघको द्वितीय उपाध्यक्ष भईसकेका व्यवसायी गुरुङ नेपाली कांग्रेस निकट मानिनुहुन्छ ।
विजय भएपश्चात नेपाल समाचारपत्रसँगको कुराकानीमा नवनिर्वाचित गुरूङले संघलाई निश्चित समूहको स्वार्थ पूर्तिको माध्यम बन्नबाट रोकेर आम व्यवसायीको हकहितमा लगाउने बताउनुभयो ।
लोकतान्त्रिक एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँग तालमेलका आधारमा बनेको प्यानलबाट अध्यक्ष गुरूङले ४ सय २८ मत पाउँदा उहाँका प्रतिस्पर्धी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको एक पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेलमा संयुक्त व्यवसायी समूहका अध्यक्षका उम्मेदवार नरेश गेलालले ३ सय ६७ मत प्राप्त गर्नुभएको थियो ।
गेलाल संघका पूर्व महासचिव तथा मञ्चका पूर्वअध्यक्ष हुनुहुन्छ । प्रथम उपाध्यक्षमा गेलाल प्यानलका सुजितकुमार श्रेष्ठ विजयी हुनभएको छ । उहाँ संघका पूर्व महासचिव हुनुहुन्छ ।
श्रेष्ठले ३ सय ७५ मत प्राप्त गर्दा गुरूङ प्यानलका प्रथम उपाध्यक्षमा उम्मेदवार नोकरी नेपाल प्रा. लि.का सञ्चालक नरेन्द्रप्रसाद ढकालले ३ सय २ मत प्राप्त गर्नुभएको थियो भने सोही पदका अर्का प्रत्यासी अख्तर हुसेनले १ सय १ मत प्राप्त गर्नुभएको थियो ।
गेलाल समूहबाट प्रथम उपाध्यक्षमा सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा बैकुण्ठ पौडेल वैभव, कोषध्यक्ष धनमाया सिंजाली, सदस्यहरू हेमा गुरुङ र रमा खड्का विजयी
द्वितीय उपाध्यक्षमा गुरूङ प्यानलकै अलर्ट ओभरसिज प्रा. लि.का सञ्चालक देवकुमार खोखाली ४ सय २ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गेलाल प्यानलका मधुकर रिजालले ३ सय ७८ मत प्राप्त गर्नुभएको थियो ।
तृतीय उपाध्यक्षमा गेलाल प्यानलका बैकुण्ठ पौडेल वैभवले ४ सय ३५ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा.लि.का सञ्चालक हर्कबहादुर लिम्बूले ३ सय ५० मत प्राप्त गर्नुभएको थियो । महासचिवमा गुरूङ प्यानलका उम्मेदवार ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का सञ्चालक महेशकुमार बस्नेत ४ सय २३ मत ल्याई विजयी हुनुभयो भने प्रतिद्वन्द्वी गेलाल प्यानलका कर्णराज कटुवालले ३ सय ६२ मत प्राप्त गर्नुभएको थियो ।
आकृति रिक्रुटिङ प्रा. लि.का सञ्चालक गुरूङ प्यानलका कुन्छा दोर्जे दिमदोङ ३ सय ७४ मत ल्याई सचिवमा विजयी हुनुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी गेलाल प्यानलका उम्मेदवार अनिल बोगटीले ३ सय ११ र स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटाले ९३ मतमात्र पाउनुभएको थियो ।
कोषाध्यक्षमा गेलाल प्यानलका धनु सिंजालीले ४ सय २८ ल्याएर विजय हात पार्नुभएको छ भने उहाँका प्रतिस्पर्धी गुरूङ समूहका उम्मेद्वार शुभ हारती म्यानपावर प्रा लि का सञ्चालक विक्रम श्रेष्ठले ३ सय ५७ मत प्राप्त गर्नुभएको थियो ।
यसै गरी कार्यसमितिको सदस्य पदमा रिजा ओभरसिज प्रा. लि.की सञ्चालक रेखा शर्माले ४ सय ४७, इगल मेनपावर कन्सल्टेन्ट प्रा लिका सञ्चालक कृष्ण ढकालले ४ सय ४२, युनिभर्सल एच.आर. सोलुसन प्रा. लि.का सञ्चालक भरत सापकोटाले ४ सय ३५, राज ग्रुप अफ कम्पनीका सञ्चालक राज लामा तामाङले ४ सय, रसुवा ओभरसिज प्रा. लि.का सञ्चालक सुवर्ण लामाले ४ सय ९, विनर एचआर सोलुसन प्रा लि की सञ्चालक हिमा गुरूङले ३ सय ४९, रियो ओभरसिज प्रा लि की सञ्चालक रमा खड्काले ३ सय ८८, हिमालयन भ्याली नेपाल प्रा. लि.का सञ्चालक देवीप्रसाद गिरीले ३ सय ७७ इम्पेरियल ओभरसिज प्रा. लि.की सञ्चालक विद्यालक्ष्मी बज्राचार्य ३ सय ५३ र सेक्युर नेपाल जब प्रा. लि.का सञ्चालक सुमनराज पाण्डेले ३ सय ४३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।