
काठमाडौं
उमानाथ प्रतिष्ठानका संस्थापक सदस्य, पूर्व अध्यक्ष एवं वर्तमान संरक्षक भूपति शर्मा पौडेलको १३ औं दिनको पुण्य तिथिमा शोक सभा सम्पन्न भएको छ । उमानाथ प्रतिष्ठानको आयोजनामा काठमाडौंको लाखेचौरस्थित पञ्चकुमारी श्रद्धा प्रतिष्ठानमा सोमबार उक्त कार्यक्रम भएको हो ।
बागलुङको पैयुँपाटाका शर्माको ८६ वर्षको उमेरमा २०८१ चैत २० गते काठमाडौंमा निधन भएको हो । संस्थाका प्रेसिडेन्ट इलेक्ट अधिवक्ता दीपेन्द्र पौडेलको अध्यक्षतामा भएको सभामा संस्थाका अध्यक्ष एवं नेपाली कांग्रेस चितवन उपसभापति शालिग्राम शर्मा पौडेलले यस संस्थाले स्थापना गरेका पुरस्कार र संस्थाको आचारसंहिताका बारेमा जानकारी गराउनु भयो । संस्थाले असल आमा पुरस्कार, असल बुहारी पुरस्कार, शान्ति शालिग्राम कृषि पर्यटन पुरस्कार, भूपति ज्येष्ठ नागरिक पुरस्कार, दलित पुरस्कार, प्रतिभा पुरस्कार सञ्चालन गर्दै आएको छ ।
पूर्व प्रजिअ विष्णुबहादुर थापाले बागलुङ जिल्लामा भूपति शर्मा पौडेल र उमानाथ प्रतिष्ठानका गतिविधिका बारेमा चर्चा गर्नुभयो ।
पूर्णप्रकाश नेपाल यात्री अध्ययन अनुसन्धान केन्द्रका अध्यक्ष एवं साहित्कार प्राध्यापक डा. शैलेन्दुप्रकाश नेपालले भूपति शर्मा पौडेलको सामाजिक व्यक्तित्व, यात्री अनुसन्धान केन्द्र र उमानाथ प्रतिष्ठान बीचका अन्तर सम्बन्धको बारेमा चर्चा गर्नुभयो ।संस्थाका संस्थापक सदस्य एवं पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलले भूपति शर्मा पौडेल २०१५ साल देखिनै राजनीतिमा क्रियाशील रहेको जानकारी गराउनुभयो ।
प्राडा भागवत ढकालले उमानाथ प्रतिष्ठानका गतिविधि र भूपति शर्मा पौडेलको पारिवारिक योगदान, उमानाथ स्मारिका २०६९ र उमानाथ प्रतिष्ठानले प्रकाशन गरेका ‘उनको कथा’, ‘शब्द चित्रमा शालिग्राम २०८१’ पुस्तकका बारेमा चर्चा गर्नुभयो ।
संस्थाका संस्थापक सचिव एवं पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलले सम्पूर्ण परिवारको तर्फबाट धन्यवाद् व्यक्त गर्दै संस्थाको भूपति जीवकुमारी कोषमा सम्पूर्ण परिवारको तर्फबाट १ लाख थप गर्ने घोषणा गर्दै वार्षिक पुण्य तिथिसम्ममा भूपति जिवकुमारी स्मृति विशेषांक प्रकाशन गर्ने घोषणा गर्नुभएको छ ।
कार्यक्रममा भूपति शर्मा पौडेलका परिवारजन, शुभेच्छुक तथा समाजसेवीको उपस्थिति थियो । उमानाथ उपाध्यायको स्मृतिमा २०४६ सालमा १० हजार रुपैयाँको कोष स्थापना भएकामा हाल १५ लाख रुपैयाँको अक्षयकोष छ । यस संस्थाको मातहतमा भूपति जिवकुमारी कोषले असल आमा, असल बुहारी, ज्येष्ठ नागरिक पुरस्कार प्रदान हुँदै आएको छ । शान्ति शालिग्राम कोषबाट कृषि पर्यटन पुरस्कार, आत्माराम दुर्गादेवी कोषबाट संस्कृति प्रतिभा पुरस्कार र पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्य रेवन्तकुमारी शिक्षा विकास कोषबाट दलित छात्रवृत्ति पुरस्कार, हरि बिना गरिब जेहेन्दार कोष समेतबाट वार्षिक करिब १ लाख २० हजार रुपैयाँ विभिन्न क्षेत्रमा पुरस्कार प्रदान गरिँदै आएको छ । हाल संस्थामा संस्थापकहरु ८ जना, विशिष्ठ सदस्य र आजीवन सदस्य गरी करिब १ सय ५० जना सदस्य छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।