काठमाडौं ।
सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चार तारे स्तरको रिसोर्टमा स्तरोन्नति गरिरहेको छ ।
सिद्धार्थ बाटिका ब्रान्डमा सञ्चालन भइरहेको रिसोर्टलाई ३० करोड रुपियाँ लगानी थपेर स्तरोन्नति गरी सिद्धार्थ वैभव ब्रान्डमा सञ्चालनको तयारी भइरहेको सिद्धार्थ हस्पिटालिटीका बोर्ड सदस्य तथा उक्त क्षेत्रका क्लस्टर म्यानेजर किरण रिमालले जानकारी दिए ।

ग्रुपले पाँचतारे स्तरका होटल रिसोर्टलाई सिद्धार्थ भिलासा, चारतारे स्तरकालाई सिद्धार्थ वैभव, तीनतारे स्तरलाई बाटिका तथा रेष्टुरेन्ट, पार्टीप्यालेस र क्याफेलाई क्रमशः सिद्धार्थ कटेज, सिद्धार्थ इभेन्ट र एस क्याफे ब्रान्डमा सञ्चालन गर्दै आएको छ । ग्रुपअन्तर्गत हाल ३० वटा होटल तथा रेष्टुरेन्ट सञ्चालन छन् ।

रिसोर्ट स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ, यसै वर्षको असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ,’ रिमालले जानकारी दिए । रिमालका अनुसार स्तरोन्नतिपछि होटल चार तारे स्तरीय हुनेछ । हाल कायम रहेको २६ वटा रुम र ५६ वटा बेडबाट ६४ वटा रुम र ९९ बेड संख्या पुग्नेछ ।
स्तरोन्नतिपछि ४२५ स्वायर फिटको ग्रान्ड डिलक्स रुम निर्माण हुनेछ, जसमा बाथटबलगायतको सुविधा हुनेछ, बालबालिकाका लागि पानीसँग सम्बन्धित खेलका लागि विभिन्न पूर्वाधार निर्माण भइरहेको छ भने मिनि फुटसल मैदान पनि निर्माण भएको रिमालले जानकारी दिए । रिसोर्टमा नेपाली मौलिक खाना र संस्कृति प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । जसका लागि ८० जना क्षमता नेपाली आर्किटेक शैली रेष्टुरेन्ट निर्माण भइरहेको छ । जहाँ बसेर त्रिशूली नदीको दृश्य अवलोकन र वाटर म्युजिकको आनन्द लिन सकिने रिमालको भनाइ छ ।

रिसोर्टकै छेउमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनाको बाँध निर्माण भइरहेको हुँदा उक्त बाँधको विशाल जलाशयमा भविष्यमा जल पर्यटन प्रवद्र्धन सकिने अपेक्षा गरिएको छ । रिसोर्टमा भीभीआईपी ग्राहकका लागि प्रेसिडेन्ट स्वीट रुमसमेत निर्माण गरिँदै छ । जसमा अन्य दुई वटा कोठा पनि जोडिएका हुनेछन् । जसमा आउटडोर र इनडोर ज्याकुजी सुविधा पनि हुने उनको भनाइ छ ।
रिमालका अनुसार हाल रिसोर्टमा १०० जना क्षमताको सभाहल सञ्चालनमा छ । अब थप ३०० जना क्षमताको सभाहलसमेत निर्माण भइरहेको हुँदा सरकारी, गैरसरकारी तथा व्यावसायिक प्रतिष्ठानका कार्यक्रमहरू गर्न पनि सहज हुने रिमालले जानकारी दिए । रिमालका अनुसार स्तरोन्नतिपछि १०० जना क्षमताको अल डे डाइनिङ हुनेछ भने सुन्दर फराकिलो बगैचा, स्वीमिङपुल, छुट्टै खेल मैदान, रिसोर्टभित्रै ग्रोसरी पसल र प्रत्येक शुक्रबार गुरुङ र मगर संस्कृति प्रवद्र्धन हुने गरी सांस्कृतिक नृत्यको पनि मजा लिन पाइनेछ ।
पोखरा र बन्दिपुरलगायतका पर्यटकीय गन्तव्यमा बढ्दो पर्यटक, कर्पोरेट कार्यक्रमलगायतलाई लक्षित गरी स्तरोन्नति सुरु गरिएको उल्लेख गर्दै रिमालले काठमाडौंबाट र पोखराबाट करिब १०० किलोमिटरको समदूरी तथा सौराहबाट पनि छोटो रहेको हुँदा सबैतिरका ग्राहकलाई आकर्षित गर्न सकिने रिमालले बताए । पृथ्वी राजमार्गको स्तरोन्नतिपश्चात् सडक यात्रा गर्ने ग्राहकलाई आराम गर्ने उपयुक्त गन्तव्य हुने रिमालको भनाइ छ ।

त्यस्तै राजमार्ग हुँदै यात्रा गर्ने ग्राहकका लागि छुट्टै रेस्टुरेन्ट र विद्युतीय गाडी प्रयोगकर्ताका लागि चार्जिङको पनि सुविधासमेत रहेको छ । ‘रिसोर्ट स्तरोन्नतिपछि पोखरा, मनकामना मन्दिर र बन्दीपुर जाने पर्यटकलाई लक्षित गरी प्याकेज निर्माण गरिनेछ, यसले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा छ,’ रिमालले भने । रिसोर्टमा हाल ६० जनाले रोजगारी पाइरहेका छन् भने स्तरोन्नतिपछि ८५ जनाले रोजगारी पाउनेछन् ।

स्तरोन्नतिपछिका सुविधा
– ग्रान्ड डिलक्स रुम संख्या: ६४
– कुल बेड संख्या: ९९
– थ्री रुम कनेक्टेड प्रेसिडेन्ट स्वीट रुम (आउटडोर र इनडोर ज्याकुजी)
– ४२५ स्क्वायर फिट क्षेत्रफलको ग्रान्ड डिलक्स रुममा बाथटब र अन्य प्रिमियम सुविधा ।
– चाइल्ड वाटर एक्टिभिटी जोन ।
– मिनी फुटसल ग्राउन्ड
– ८० जना अट्ने डेक रेष्टुरेन्टबाट त्रिशूली नदीको सौन्दर्यसँगै वाटर म्युजिक
– ३०० जनाको क्षमताको सभाहल, १०० क्षमताको अर्को हल सञ्चालनमा ।
– प्रत्येक शुक्रबार गुरुङ र मगर जातिको संस्कृति नाचबाट पाहुनालाई मनोरञ्जन प्रदान ।
– अल डे डाइनिङ, बगैचा, स्वीमिङ पूल, खेल मैदान, ग्रोसरी पसल
– इलेक्ट्रिक गाडीको चार्जिङ स्टेशनको सुविधा ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।