
काठमाडौं ।
जम्मु–काश्मीरको पहलगाममा गत मंगलबार भएको आतंककारी आक्रमणपछि भारत–पाकिस्तान सम्बन्ध पुनः युद्धको मैदानमा पुग्ने सम्भावना बढेको छ ।
भारतले आतंककारीहरुलाई पाकिस्तानको समर्थन रहेको आरोप लगाउँदै आक्रमणको भोलिपल्टै पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बित गरेको थियो ।
शुक्रबार भारतका गृहमन्त्री अमित शाहको घरमा भएको जल शक्ति मन्त्रालयको बैठकले सिन्धु जल सन्धि निलम्बित गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयलाई ३ थरीको रणनीति बनाएर ३ चरणमा पूरा गर्ने निर्णय गरेको छ । गर्मीको मौसममा पानीको बहाब कम भएर पाकिस्तानले जल संकट बेहोरिरहेको समयमा भारतको यो निर्णयले पाकिस्तानमाथि थप संकट ल्याउने निश्चित छ ।
भारतको उक्त निर्णयमाथि असहमति जनाउँदै पाकिस्तानले भारतको उक्त निर्णयले युद्ध निम्त्याउने चेतावनी दिएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले शनिबार बीबीसीलाई दिएको एक अन्तर्वार्तामा सिन्धुबाट बग्ने पानीमा पाकिस्तानको अधिकार रहेको दाबी गर्दै भारतले पाकिस्तानलाई पानीबाट वञ्चित गर्न नमिल्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘यदि भारतले उक्त सन्धिविपरीत कुनै कारबाही गरेमा पाकिस्तानसँग युद्ध चाहेको मानिनेछ र पाकिस्तान यसका लागि तयार छ ।’ उहाँले सिन्धु जल सन्धि निलम्बित गर्ने भारतको निर्णयविरुद्ध मध्यस्थताका लागि विश्व बैंकलाई गुहार्ने बताउनुभयो । सन् १९६० मा विश्व बैंककै मध्यस्थतामा उक्त सन्धि भएको स्मरण गराउँदै उहाँले भारत एक्लै यो सन्धिबाट पछि हट्न नसक्ने बताउनुभयो ।
यद्यपि भारतले भने पाकिस्तानलाई सिन्धुको जलको एक थोपा पनि नदिने बताएको छ । सन्धिअनुसार सिन्धु घाँटीबाट बग्ने ६ वटा नदीलाई पूर्वी र पश्चिमी भागमा बाँडिएको थियो । पूर्वी भागको रावी, व्यास र सतलुजको पानीमाथि भारतको पूरा अधिकार छ भने पश्चिमी भागमा बाँडिएको सिन्धु, चिनाब र झेलमको २० प्रतिशत पानीमा मात्रै अधिकार छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।