
काठमाडाैं ।
अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा), अमेरिकाले देश तथा विदेशमा क्रियाशील सम्पूर्ण नेपाली पत्रकारहरूलाई सम्मान र शुभकामना व्यक्त गरेको छ।
इन्जाले पत्रकारहरूलाई सत्यका पक्षमा निर्भीक कलम चलाउन आह्वान गर्दै प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको स्पष्ट पारेको छ। संघीयता र गणतन्त्रको व्यवस्था हुँदाहुँदै पनि नेपालमा अभिव्यक्ति स्वतन्त्रतामा अवरोध रहेको उल्लेख गर्दै इन्जाले आलोचना सहन नसक्ने सरकारको प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेको छ।
संगठनले पत्रकारहरूमाथि भइरहेका हत्या, गिरफ्तारी र आक्रमणका घटनाहरूको निन्दा गर्दै दोषीमाथि कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न माग गरेको छ। इन्जाले पत्रकारहरूको हक, सुरक्षा र सम्मानका लागि निरन्तर प्रतिबद्धता दोहोर्याएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।