म्याग्दी।
‘पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित म्याग्दीको बेनी नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषित भएको छ । आइतबार जिल्ला सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच नगरपालिकालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो ।

बच्चा जन्मेदेखि १५ महिनासम्मका ३ सय ९८ जना र १६ महिनादेखि ५९ महिनासम्मका १२ सय ९२ जनासहित सबै बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित नगरपालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा गरिएको छ । बालबालिकाहरुले जन्मेदेखि ५९ महिनासम्मको अवधिमा विभिन्न प्रकारका खोपहरु पाएका छन्भने जन्मेदेखि १५ महिना भित्रका बालबालिकाहरु सबैले नियमित रुपमा खोप लगाइरहेका छन् ।
राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरु सबैले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रिया पुरा गरी बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले बताउनुभयो । उहाँका अनुसार बालबालिकाहरुले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् ।
बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषणा गर्न यसअघि यही वैशाख महिनामै वडास्तरमा पूर्णखोप सुनिश्चित वडा घोषणा कार्यको सुरुवात गरिएको थियो । पालिकाको सम्पूर्ण घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो । रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेतसहित कुल १० वटा वडा रहेको बेनीमा यी सबै वडालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि नगरपालिकालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।
कार्यक्रमको अवसरमा बेनी नगरपालिकाबाट पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमलाई सफल बनाउन आ–आफ्नो क्षेत्रमा खटिएका वडाहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । यसैगरी जिल्ला खोप समन्वय समितिको तर्फदेखि नगरपालिकालाई पूर्णखोप सुनिश्चितताको घोषणा भएको तथा दिगोपना कायम राख्नको लागि प्रशंसापत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा आगामी दिनमा पनि बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चित र दिगोपना राख्ने प्रतिबद्धता जनाउँदै शपथग्रहणसहित हस्ताक्षर गरिएको छ ।

पूर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले नगरपालिकालाई पूर्णखोप सुनिश्चित बनाउन वडास्तरमा खट्नुहुने सबैलाई धन्यवाद दिनुभयो । उहाँले पूर्णखोप कार्यक्रमले स्वस्थ, दक्ष, योग्य र सक्षम नागरिक उत्पादनमा सहयोग पु¥याउने बताउँदै आगामी दिनमा पनि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउनुभयो ।
जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्यले पूर्णखोप कार्यक्रम नेपाल सरकारको आधारभूत स्वास्थ्य सेवाको रुपमा रहेको हुँदा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम प्रभावकारी रहेकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले पूर्णखोप कार्यक्रमलाई वार्षिक रुपमा सञ्चालन गरिँदै आएको बताउँदै खोप कार्यक्रममा तीनै तहको समन्वय रहेकाले रोग लाग्न नदिनको लागि त्यसको पूर्वतयारीस्वरुप पूर्णखोप अभियान सञ्चालन भैरहेको बताउनुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले पूर्णखोप कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न, बालमृत्युदर तथा अपाङ्गताको दरलाई घटाउन सहयोग पु¥याउनेमा जोड दिनुभयो । कार्यक्रममा बेनी नगरपालिका–५ नम्बर वडाका अध्यक्ष गोविन्द बानियाँ र नगरपालिकाको शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बेनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम स्वास्थ्य शाखाका सहसंयोजक लिलाकुमारी गौतमको सञ्चालन र सोमनाथ उपाध्यायले स्वागत गर्नुभएको थियो । बेनी नगरपालिका जिल्लामा पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा हुनेमा छटौँ पालिका बनेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।