ओखलढुंगा ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका ९ का बाख्रा पालक कृषकहरुलाई उन्नत जातको बिउ बोका वितरण गरिएको छ । सिद्धिचरण नगरपालिका, साहस नेपाल र किसानहरुको साझेदारीमा सिद्धिचरण नगरपालिका ९ का ७ वटा कृषक समूहलार्ई सोरही जातको बिउ बोका वितरण गरिएको हो ।
नगरपालिकाले बाख्रा ब्यवसाय प्रबर्दनका लागि चितवनबाट उन्नत जातको बिउ बोका खरिद गरेर कृषि समुहमा वितरण गरिएको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताएका छन् । नगरबासीहरुको जिविकोपार्जनकालागी कृषकहरुको माग बमोजिम आगामी आर्थिक बर्षहरुमा नगरपालिकाको अन्य वडाहरुमा पनि उन्नत जातको बिउ बोकाहरु वितरण गरिने मेयर खनालको भनाई रहेको छ ।

ब्यवसायिक रुपमा बाख्रा पालन गर्ने किसानहरुलाई प्राथमिकतामा राखेर किसान छनौट गरी वितरण गरिएको सिद्धिचरण नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गुणराज खड्काले बताएका छन् । बिउ बोका वितरण पश्चात् बाख्रा पालक किसानहरुको आयआर्जनमा वृद्धि हुने अध्यक्ष खड्काको भनाई रहेको छ । बाख्रा प्रजनन्कालागि एउटा बाख्रामा बोका लगाए बापत प्रति बाख्रा एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको उनको भनाई रहेको छ ।
बिउ बोका प्रति के. जी १४ सय रुपैयाँमा खरिद गरिएको सिद्धिचरण नगरपालिकाका पशु पंक्षी सेवा शाखा प्रमुख हिरा ठटालले बताएका छन् । उनका अनुसार सिद्धिचरण नगरपालिकाको २ लाख, साहस नेपालको १ लाख ५५ हजार र कृषकहरुको ७५ हजार गरी ४ लाख ३० हजारमा ७ वटा बिउ बोका खरिद गरी कृषकहरुलाई वितरण गरिएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।