
हेटौंडा ।
हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरण गर्ने निर्णयको विरोध गर्दै नेकपा (माओवादी केन्द्र) मकवानपुरले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
बिहीबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठमार्फत माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्माओलीलाई ध्यानाकर्षणपत्र बुझाएको हो । बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलगायत उद्योगहरु पुनर्संञ्चालन माग भइरहेको सन्दर्भमा चालु अवस्थामा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरण गर्न खोज्नु खेदजनक भएको माओवादी केन्द्रको ठहर छ ।
पार्टी केन्द्रीय एवम् जिल्ला इञ्चार्ज विजय गौतम र जिल्ला संयोजक भीम पाख्रिनद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा वर्तमान सरकार जनता र राष्ट्रको पक्षमा भन्दा पनि बिचौलियाहरुको हितमा सक्रिय रहेको उल्लेख गरिएको छ । सरकारको यस किसिमको कुनियत र कुप्रयासको भत्र्सना गर्दै संरचनागत्, प्रविधिगत् र प्रशासनिकरुपमा आवश्यक सुधार गरी उद्योग सञ्चालनको प्रवन्ध गर्न माग गरिएको छ । व्यवस्थापनको चरम लापरबाही र कमिसनमुखी प्रवृत्तिका कारण हेटौंडा सिमेन्ट उद्योग जर्जर अवस्थामा पुगेको केन्द्रीय सदस्य गौतमले बताउनुभयो । ‘निजी उद्योगहरुले सिन्डिकेटको तरिकारले सिमेन्टको मुल्य अस्वभाविकरुपमा प्रतिबोरा दुई सय रुपियाँ भन्दा बढी बढाउँदासमेत सरकार मुकदर्शक बनिरहेको अवस्था छ,’ उहाँले भन्नुभयो–सरकारी उद्योग हुँदासमेत निजी क्षेत्रको यस स्तरको दादागिरी सतहमा आएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जतिसक्दो छिटो ज्ञापनपत्रलाई प्रधानमन्त्री कार्यालय पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ज्ञापनपत्र बुझाउनुअघि मानसचोकबाट जिल्ला प्रशासन कार्यालयसम्म विरोध ¥याली निकालिएको थियो । संघीय सरकारले बैशाख १५ गतेको मन्त्रिपरिषद् बैठकबाट जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग, हेटौंडा सिमेन्ट उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना र नेपाल ओरियन्ट म्याग्नेसाइटलाई निजीकरण गर्ने निर्णय गरेको थियो ।
२०३३ मा हेटौंडा–९ को लामसुरेमा स्थापना भएको उद्योगले २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । हाल उपकरणहरु पुरानो भइसकेका र राम्ररी उत्पादन गर्नसक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ । उपकरण पुरानो र बिग्रिसकेको अवस्थामा छ । त्यस्तो अवस्थामा अपेक्षाकृतरुपमा सिमेन्ट उत्पादन गर्न सकिएको छैन । उद्योगका प्राविधिक भन्छन्–त्यही भएर हामी हाल पुरानो उपकरण मर्मत गरिरहेका छौं । एकपछि अर्काे समस्यासँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगले २०८१ भदौ तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको थियो । उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योग आर्थिक समस्याका कारण थलिएको छ । ‘हेटौंडा सिमेन्ट उद्योग पुरानो भएकाले आधुनिक उद्योगसँग प्रतिष्पर्धा गर्न सक्ने अवस्था छैन,’ उनको भनाइ छ–उद्योग एकदम पुरानो छ, नयाँ उद्योगसँग प्रतिष्पर्धा गर्नसक्ने अवस्था छैन । उनका अनुसार यसमा प्रयोग भएका मेसिन समयक्रमअनुसार परिवर्तन गर्नुपर्छ । त्यसका लागि सरकारले खर्च गर्नुपर्ने उनको भनाइ छ । उद्योगमा थप लगानी गर्नुका साथै उद्योग सञ्चालन गर्ने मोडालिटी पनि परिवर्तन गर्नुपर्ने उनले बताए । उद्योगका एक इञ्जिनियरका अनुसार थोरै रासायनिक वा गुणस्तर मापदण्ड नपुगेका सिमेन्टलाई उद्योगको ल्याबले अस्वीकार गर्छ । ल्याबले ‘हुँदैन’ भनेका सिमेन्ट बोरामा भरिँदैन, डम्पिङ गरिन्छ । यसो गर्दा गुणस्तरहीन सिमेन्ट बजारमा पुग्दैन । निजी उद्योगमा ल्याबले नेगेटिभ देखाए पनि नाफाका लागि बजार पठाउने गर्दा गुणस्तरमा प्रश्न उठ्ने गरेको उनको तर्क छ । हेटौंडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरिँदै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत् छन् । आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसकिँदा बक्यौता थुप्रिएको छ । विद्युत्को करिब ४० करोड बक्यौता बाँकी छ । त्यसैले पनि विद्युत् प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गरिदिन उद्योगले अनुरोध गर्न सकेको छैन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।