
बुटवल।
लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८२ तीन दिवसीय रुपमा मनाइने भएको छ । यही वैशाख २८, २९ र ३० गतेका दिन उत्सवका रुपमा २५६९ औ बुद्ध जयन्ती मनाउन गइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । शनिवार लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कोषले बुद्ध जयन्तीमा आयोजना हुने कार्यक्रम बारे जानकारी गराएको छ ।
बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ मनाउँदै आएको छ र यसैदिन लुम्बिनी दिवसका रुपमा समेत मनाउने गरिएको छ । भगवान गौतम बुद्धको आजभन्दा २६४९ वर्ष अघि ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा मायादेवीको कोखबाट वैशाख शुक्लपूर्णिमाका दिन जन्म भएको थियो ।
वैशाख २९ गते प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ’२५६९ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस’ विशेष समारोह हुने प्रचार प्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए ।
वैशाख २८गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुने छ भने वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गूरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, बिहान साँढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने छ । यसै दिन जयन्तीको मूल कार्यक्रम पनि मनाइँदै छ जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
बुद्धजयन्तीको भोलीपल्ट वैशाख ३० गते बर्षेनी हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा हुनेछ । लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले हाल भारत र पाकिस्तान सहित कयौ देशमा युद्द भइरहेको अवस्थमा यो बुद्धजयन्तीले यी क्षेत्रहरुमा शान्तिको कामना सहित मनाइने बताए । उनले विश्व शान्तिको केन्द्र लुम्बिनीको अहिले अन्तर्राष्ट्रिय स्तरमै प्रचारप्रसार भइरहेको बताउँदै बुद्ध जयन्तीले अझै सहयोग पु¥याउने उनको भनाइ छ । बुद्ध जयन्तीमा करिब १ करोड खर्च हुने उनले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।