
काठमाडौँ।
काठमाडौ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन( मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विनोद घिमिरेले १६ओटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममाकेही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको मुलपानी, माकलबारी,सुकेधारा, गौरीघाट, काँडाघारी,नयाँबसपार्क,सोह्रखुट्टे, स्वयम्भु, चौमती, स्युचाटार, दरबारमार्ग, भैंसेपाटी र ठिमी लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आज बुझाइएका २२ओटा सहित४ सय ३१ओटा सवारी साधन गत साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ४० ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ५८ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
आज बुझाईएका २२ओटा सवारी साधनहरु हराएको भनीविभिन्न मितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेका थिए ।
सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।
आर्थिक वर्ष २०७९/०८० मा ४ सय ९९ ओटा,०८०/०८१ मा ४ सय १७ ओटा र ०८१/०८२को आज सम्ममा ४ सय ३१ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकाप्रवक्ता प्रहरी उपरिक्षक दिपक गिरीलेअनुरोध समेत गरेका छन् । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३,नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।