२४ असोज , कपिलवस्तु – कपिलवस्तुका महिलाहरुले पछिल्लो समयमा संस्थामा सुत्केरी गराउनेको संख्या बढ्दो रहेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेका साविक गाविसहरूमा अनुगमन गर्दा यस्तो पाइएको हो ।
सुनौला हजार दिन संचार अभियान कपिलवस्तु र पत्रकारहरुको संयुक्त टोलीले सोमबार साविक गणेशपुर गाविस र भगवानपुर गाविस अनुगमन गरेका हुन् । मधेसी समुदायको बाहुल्यता रहेको क्षेत्र साविक भगवानपुर गाविसमा सुनौला हजार दिन संचार अभियान गाउँस्तरमै पुगेर काम गरिरहेको स्वास्थ्यकर्मीहरुले बताए ।
पहिलाको तुलनामा गर्भ परीक्षण र सुत्केरी गराउनेको संख्या बढेको भगवानपुर स्वास्थ्य चौकीका आहेव नन्दकिशोर चौधरीले बताए । पहिला घरमै सुत्केरी गराउँदा कतिपय महिलाको ज्यान गएको बताउदै सुनौला हजार दिन संचार अभियान प्रभावकारी रूपमा गाविसमा संचालन भएको चौधरीले जिकिर गरे । पछिल्लो समयमा मासिक १५ देखि २० जनाको संख्यामा गर्भ चेकजाँच गरिने अनमी अनिता अधिकारीले बताईन् । साविक भगवानपुर गाविसमा १३ जना गर्भवती महिलालाई निगरानीमा राखेको सुनौला हजार दिन संचार अभियानका फिल्ड सुपर भाइजर विजयकुमार कुर्मीले बताए ।