उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा गिटी बालुवा ढुंगा उत्खनन् कानुन विपरित गरेको भनेर जिल्लाभित्र व्यापक चर्चाको विषय बनेको छ । अहिले विवादको घेरामा रहेको सो उत्खनन् कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत रुपमा अध्ययन गरेको बुझिएको छ ।
चौदण्डीगढी नपा वडा नं २ र ४ मा नपाले कार्यपालिका बैठकको निर्णय अनुसार वातावरणीय परीक्षण (आइइईं) गरेर स्वीकृतिका आधारमा गिटी बालु ढुंगा उत्खनन्कालागि दर्ता भएको नम्बरी जग्गाबाट उत्खनन गर्न सहमती दिएको थियो । तर, पछि उत्खनन् गर्दा दर्ता नभएको माडीवास र लामा खोलामा पर्ने ऐलानी जग्गाको गिटी, बालुवा , ढुंगा ठेकेदारले निकाले पछि विवाद शुरु भएको थियो । हाल उत्खनन् भएको ठाउँको आइइइ नै भएको छैन ।
यस विषयमा चौदण्डीगढी नपा वडा नं ४ का वडाध्यक्ष लुङ्गराज राईको अध्यक्षतामा अनुगमन समिति गठन भएको जानकारी दिंदै नपाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले अनुगमन गर्ने काम नियमित भैरहेको छ , जुन जग्गाको आइइइ गरेर उत्खनन गर्न सहमती लिइएको हो त्यो जग्गामा उत्खनन् नगरी दर्ता नभएको ऐलानी जग्गाको गिटी, बालुवा, ढुंगा उत्खनन गरेकोले विवाद आएको हो ।
नपाले ऐलानी जग्गाको गिटी बालुवा ढुंगा उत्खनन् गर्न सहमती नदिएको अवस्था रहेकोले अख्तियार दुरुपयोग अनुसन्धानबाट पनि स्थलगत रुपमा अध्ययन गरेर गएको आफूले जानकारी पाएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।
स्थानीयले यस विषयमा जिल्ला प्रशासन कार्यालय उदयपुर र अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी गरेपछि जिल्ला प्रशासन कार्यालयबाट प्रजिअ प्रेमप्रसाद लुइटेलको टोलीले स्थलगत अध्ययन गर्दा सहमती विपरित उत्खनन भएको पाइएपछि तत्काल उत्खनन नगर्न भनेपछि हाल उत्खनन कार्य स्थगित भएको छ ।
यस्तै इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलले पनि उत्खनन भएको ठाउँको स्थलगत रुपमा अध्ययन गरेर गएको अख्तियार श्रोतले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राईले आफू गत फागुन २६ मा नगरपालिकामा हाजिर भएको समयमा गिटी बालुवा ढुंगा उत्खनन् गर्ने सम्बन्धि निर्णय भैसकेको रहेछ । कानुनी प्रक्रिया अनुसार आइइई गरेर बुझाउनु पर्ने राजस्व बुझाएर दर्ता कायम भएको व्यक्तिका नाममा रहेको जग्गाबाट उत्खनन् गर्न सहमती दिइएको देखिन्छ ।
कोशी प्रदेश सरकारको यस सम्बन्धि २०७८ सालमा बनेका विभिन्न कानुन अनुसार कर बाहेक प्रति घनमिटर रु २ का दरले राजस्व बुझाएर उत्खनन् शुरु गरेको जानकारी दिंदै प्रमुख प्रशासकीय अधिकृत राईले व्यक्तिका नाममा दर्ता कायम भएको जग्गा नपामा सम्याउन र मिलाउन निवेदन दिएको हुँदा आवश्यक प्रक्रिया पुरा गरेर सहमती दिइएको बताए ।
यस विषयमा इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय श्रोतले चौदण्डीगढी नपाको गिटी, बालुवा, ढुंगा उत्खनन् विवादका बारेमा स्थलगत अध्ययन तथा अनुगमन गर्न टोली चौदण्डीगढी नपामा गएको जनाएको छ ।
यस विषयमा चौदण्डीगढी नपाका प्रमुख कालुमान लामाले नगरपालिकाले गर्ने काम सबै कानुन सम्मत नै हुने गरेको र यो उत्खनन् सम्बन्धी काम पनि कानु अनुसार नै भएको बताए ।
चौदण्डीगढी नपा वडा नं ४ का अध्यक्ष तथा अनुगमन समितिका अध्यक्ष लुङ्गराज राईले पनि गिटी बालुवा ढुंगा अबैध रुपले उत्खनन् भएको भन्ने कुरा सुनेपछि आफुहरु अनुगमनमा गएको र स्थलगत रुपमा हेर्दा आइइइ भएको नम्बरी जग्गाको गिटी बालुवा ढुंगा उत्खनन् गर्नु पर्नेमा सो नगरी दर्ता नभएको ऐलानी जग्गाको गिटी, बालुवा, ढुंगा उत्खनन भएको पाइएको बताए ।
वडाध्यक्ष राईले उत्खनन्कालागि स्वीकृति लिएको जग्गाकै छेउमा रहेको जग्गाधनी पुर्जा नभएको ऐलानी जग्गाबाट जहाँ ३ जनाको जग्गा रहेको छ । ३ जनाको जग्गा बाट उत्खनन भएको र उक्त जग्गा २०५२ सालदेखि व्यक्तिले उपभोग गर्दै आएको खेती गरेको, बालीनाली लगाएको र जग्गाको निस्सा पनि रहेको छ । तर उत्खनन्को स्वीकृति लिने निर्माण कम्पनिले नियत बिगारेर उत्खनन् गरेका कारण विवाद चुलिएको वडाध्यक्ष राईले बताए ।
उत्खनन् गर्न सहमती दिइएको नम्बरी जग्गालाल बहादुर कामी, दिल बहादुर मगर र वेद बहादुर मगरको रहेको भए पनि उक्त जग्गामा उत्खनन् नगरी आइइइ नभएको, स्वीकृति नलिएको , जग्गा ाधनी प्रमाणपुर्जा समेत नभएको जग्गाको प्राकृतिक श्रोत उत्खनन् कानुन सम्मत नहुने व्यवस्था रहेकोले यो उत्खनन्लाई अबैध मानिएको वडाध्यक्ष तथा अनुगमन समितिका अध्यक्ष राईले बताए ।
यो उत्खनन् साङ्गे छोयलिङ निर्माण कम्पनिले गरेको र हाल सिराहाको बन्दीपुरेदेखि सप्तरीको कञ्चनपुरसम्म निर्माण भैरहेको पूर्व पश्चिम लोेकमार्ग निर्माणका् काममा प्रयोग भएको छ भने यहाँबाट लाखौ घनमिटर प्राकृतिक श्रोत उत्खनन् गरेर अन्यत्र लगिएको स्थानीयले बताएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।