ललितपुर ।
नेपाल रेडक्रस सोसाइटी सैबु उपशाखाले विद्यालय प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ । ललितपुर महानगरपालिका–१८ को आर्थिक सहयोगमा दुईदिने तालिम सम्पन्न भएको हो ।

तालिममा वडाका सामुदायीक र संस्थागत गरी ८ वटा विद्यालयका २४ विद्यार्थी सहभागिता थिए । तालिममा वडाको वालकुमारी आधारभूत विद्यालय, सहिद धर्मभक्त, हाइल्याण्ड, निर्मल, डाइनामिक, सनराइज , माउन्ट मकालु र मैया एकेडेमी गरी ७ वटा संंस्थागत विद्यालयका विद्यार्थीको सहभागिता थियो ।

विद्यार्थीलाई विपतको अवस्थामा घाइतेलाई कसरी उद्दार गर्ने, बेहोस अवस्थामा कसरी प्राथमिक उपचार पद्धति अपनाउने, हातखुट्टा भाचिदा, जलन हुँदा कस्तो किसिमको प्राथमिक उपचार पद्धति अपनाउने लगायतका विषयमा तालिम दिएको थियो । नेरेसो सैबु उपशाखाका सचिव दिवेशकुमार कार्की, निरञ्जन सेढाई र संगिता बोगटीले प्राथमिक उपचार सम्बन्धी तालिम दिएका थिए ।

दुईदिने तालिम उद्घाटन समारोहमा बोल्दै ललितपुर महानगरपालिका–१८ का अध्यक्ष दामोदर खड्काले विपदको समयमा कसरी आफु र अरुलाई जोगाउन सकिन्छ ? भन्ने विषयमा विद्यार्थीलाई तालिम दिएको बताए ।

उनले उपशाखासंग सहकार्य गरी विभिन्न तालिम कार्यक्रम संचालन गरिरहेको बताए । तालिम संयोजक एवं प्रमुख प्रशिक्षक कार्कीले सैबु उपशाखाले निरन्तर रुपमा तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

सैंबु उपशाखाका सभापति सुरेन्द्र थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य गोपाल डंगोल लगायतले बोल्नुभएको थियो । शनिवार सम्पन्न तालिममा अध्यक्ष खड्काले प्रमाणपत्र दिनुभएको थियो । सभापति थापाले तालिममा सहभागी विद्यार्थी र प्रशिक्षकले गरेको योगदानको प्रशंसा गर्नुभएको थियो।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।