
काठमाडौं ।
नेपाल पहिलोपटक आईसीसी महिला टी–२० विश्वकपअन्तर्गत ग्लोबल क्वालिफायरमा छनोट भएको छ ।
बैंककमा जारी आईसीसी महिला टी–२० विश्वकपको एसिया छनोटमा भएको खेलमा जित हासिल गरेपछि नेपाल ग्लोबल क्वालिफायरमा पुगेको हो । सोमबार भएको एसिया छनोटअन्तर्गत सुपर थ्रीको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५ विकेटले हराएको हो ।
नेपाली महिला टिमको यो ऐतिहासिक सफलता हो । नेपाल ग्लोबल क्वालिफायरमा पुगेको यो पहिलोपटक हो । एसिया छनोटबाट तीन टोलीबाट दुई टोली ग्लोबल क्वालिफायरमा पुग्ने प्रावधान रहेको छ । अघिल्लो दिन यूएईलाई नै हराएर आयोजक टोली थाइल्यान्ड ग्लोबल क्वालिफायरमा पुगेको हो ।
खेलमा जितका लागि १ सय १५ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले पार गरेको हो । नेपालले १९औं ओभरको ३ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । उनी नटआउट रहँदै नेपालको जित सुनिश्चित गरेकी हुन् ।
३८ रन जोड्दा नेपालले पहिलो क्रमका तीन खेलाडी गुमाएपछि इन्दुले एक इन्ड राम्ररी सम्हालिन् । उनले उपकप्तान पूजा महतोसँगै चौथो विकेटका लागि २४ रनको साझेदारी गरिन् । पूजा १३ रनमा आउट भइन् । यो दबाबमा पनि इन्दुले एक इन्डलाई बलियो बनाइराखिन् । उनलाई पूर्वकप्तान रुबिना क्षेत्रीले साथ पनि दिइन् । उनीहरूले पाँचौं विकेटका लागि ३७ रनको साझेदारी गरेपछि नेपालको जित पक्का भएको थियो । रुबिनाले महत्वपूर्ण २३ रन जोडेर आउट भइन् ।
विश्वकप इंग्ल्यान्डमा हुने
आगामी २०२६ को टी–२० महिला विश्वकप इंग्ल्यान्डमा आयोजना हुँदै छ । ८ टोली पहिले नै विश्वकपका लागि छनोट भइसकेका छन् । जसमा, इंग्ल्यान्ड, वेस्टइन्डिज, श्रीलंका, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, अस्टे«लिया र न्युजिल्यान्ड छनोट भएका टोली हुन् । १२ टोलीले खेल्ने सो विश्वकपमा थप चार टोली छनोट हुन बाँकी छ ।
ग्लोबल क्वालिफायरमा नेपाल र थाइल्यान्डले प्रतिस्पर्धा गर्ने तय भइसकेको छ । यो एसिया छनोटका टोली हुन् । यसरी नै विभिन्न महादेशबाट पनि टोलीहरू छनोट हुँदै ग्लोबल क्वालिफायरमा खेल्ने पक्का गर्दछन् । यसअनुसार अमेरिका पनि ग्लोबल क्वालिफायरका लागि छनोट भइसकेको छ ।
क्याप्सन
आईसीसी टी–२० महिला विश्वकपअन्तर्गत ग्लोबल क्वालिफायरमा पुगेपछि रमाउँदैं नेपाली खेलाडीहरू । तस्वीर ः क्यान
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।