
काठमाडौं।
राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन) को तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि चितवनमा हुने भएको छ। दुई दिने सम्मेलनका लागि सम्पूर्ण तयारी पूरा भएको बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. जागेश्वर गौतमले जानकारी दिए। उनले सम्मेलनमा नयाँ नेतृत्व चयन हुने समेत जानकारी दिए ।
एनडीएएन नेकपा एमाले निकट चिकित्सकहरूको संस्था मानिए पनि डा. गौतमका अनुसार संघमा गैर–एमाले विचारधारा भएका चिकित्सकहरू पनि सहज रूपमा सदस्य बन्न सक्ने व्यवस्था गरिएको छ । सम्मेलनमा देशभरिबाट प्रतिनिधित्व हुने अनुमान गरिएको छ ।
संघले चिकित्सकहरूको पेशागत हकहित, सुविधा, तथा सुरक्षाका विषयमा निरन्तर आवाज उठाउँदै आएको बताउँदै अध्यक्ष गौतमले पछिल्लो समय चिकित्सकहरूलाई स्वदेशमै बसेर सेवा दिने वातावरण बनाउन संघले सरकारसमक्ष निरन्तर दबाव दिइरहेको बताए । “स्वास्थ्य विशिष्टीकृत सेवा हो, यसका लागि छुट्टै ऐनको आवश्यकता छ,“ उनले भने– “चिकित्सकहरूलाई श्रम ऐन अनुसार सुविधा उपलब्ध गराउन राज्य गम्भीर बन्नु आवश्यक छ ।“
संघका सल्लाहकार डा. कृष्ण अधिकारीले चिकित्सकहरू श्रम ऐन अनुसार सुविधा नपाइरहेको भन्दै राज्यको उदासीनताप्रति असन्तोष व्यक्त गरे । उनले एनडीएएनले यो विषयमा निरन्तर पहल गरिरहेको उल्लेख गरे । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा. झलक गौतमले सम्मेलनको सफलताको कामना गर्दै स्वास्थ्यकर्मीहरूको एकता र अधिकारका लागि यस्तो सम्मेलन आवश्यक भएको बताए ।
सम्मेलनको उद्घघाटन नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले गर्ने कार्यक्रम तय भएको छ भने नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण तथा संघको आगामी कार्यदिशा तय गर्न पार्टी महासचिव शंकर पोखरेलको उपस्थिति रहनेछ । आठ वटा घटक रहेको महासंघमध्ये एनडीएएन एक महत्वपूर्ण घटक मानिन्छ ।
यो सम्मेलनले चिकित्सा क्षेत्रमा नीति निर्माण तथा चिकित्सकहरूको हकहितमा ठोस बहस अघि बढाउने अपेक्षा गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।