
उदयपुर ।
कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको उदयपुरको मध्यवर्ती क्षेत्रमा पर्ने बेलका नगरपालिका वडा नं २ मा स्थानीय जनता र वन्य जन्तु विचको द्वन्द्वबाट हुने क्षतिबाट उत्पन्न हुने मानव अधिकारका विषयमा शुक्रवार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो अन्तरक्रियामा सहभागी भएका उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले दिएको जानकारी अनुसार सो कार्यक्रम प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी,सदस्य रञ्जु कुमारी झा, समितिका सचिव रामहरी थापा, बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीको सहभागिता रहेको थियो ।
सो अन्तरक्रिया कार्यक्रममा कोशी टप्पु वन्य जन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीय जनतालाई वन्य जन्तुबाट भएको असर, मानव र वन्यजन्तु बिचको द्वन्द्व, यसबाट मध्यवर्ती क्षेत्रका जनतालाई पुगेको असर तथा मानवअधिकार उल्लंघनका घटना संरक्षणका कुरा र समग्रमा स्थानीय जनताको मानव अधिकारको कसरी रक्षा गर्ने र वर्तमान अवस्थाका बारेमा छलफल भएको प्रजिअ लुइटेलले बताए ।
उक्त कार्यक्रममा कोशी टप्पु वन्य जन्तु आरक्षको चारकिल्ला भित्र स्थायी तथा अस्थायी रुपले बसोवास गर्ने नागरिकहरुको मानवअधिकार सम्बन्धमा नीतिगत तथा कानुनका विषयमा गर्नु पर्ने सुधार, मानिस र वन्य जन्तु बिचको सम्बन्ध सुधार, वन्य जन्तुले मानव जीवनमा, कृषि उत्पादनमा गरेको असर, भएको क्षति। राहत वितरण लगायतका विषयमा स्थानीय जनताले समिति सभापति सुवेदी समक्ष मागपत्र तथा समस्या समाधानकालागि सुझाव प्रस्तुत गरेको उदयपुरका प्रजिअ लुइटेलले बताए ।
कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, डिभिजन वन कार्यालय गाईघाट उदयपुरका प्रमुख राम भगत यादव, बेलका नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, सदस्यहरु लगायतका स्थानीयहरूको उपस्थिति रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।