
रौतहट ।
जीबनरक्षाको लागि चन्द्रपुर हस्पिटलले नि:शुल्क उद्धार सेवा गर्ने भएकोे छ । हस्पिटलले सडक दुर्घटना, प्राकृतिक विपद्, तथा आकस्मिक स्वास्थ्य संकटमा परेकाहरूलाई लक्षित गर्दै मानवीय उद्धारको लागि यो सेवा ल्याएको हो । विपत्तिको घटनाले छटपटाइरहेकाहरूको राहतको लागि यो सेवा प्रभावकारी हुने विश्वास लिइएको छ ।
सवारी दुर्घटनाको सूचना प्राप्त हुनासाथ हस्पिटलको चिकित्सकसहितको टोली दुर्घटनास्थलमा पुगेर तत्कालै घाइतेको प्राथमिक उपचार सुरुगरिने डाक्टर सुबास चौधरीले बताए । निजी लगानीमा खोलिएका अस्पताल मध्ये चन्द्रपुर हस्पिटलले सुरु गरेको यो सेवा मधेस प्रदेशमै सम्भवतः पहिलो भएको बताइएको छ । हस्पिटलले यो सेवा सञ्चालनमा ल्याएपछि स्थानीय बासिन्दा र विभिन्न सामाजिक संस्थाहरूले यो पहलको स्वागत गरेका छन ।
‘उद्धार सेवाको मुख्य उद्देश्य सडक दुर्घटना, प्राकृतिक बिपद, आगजनी वा अन्य आकस्मिक घटनामा परेका घाइतेको तत्कालै चिकिल्सकको टोलि घटनास्थलमै पुगेर निःशुल्क प्रथमिक उपचार गरी सम्बन्ध्ति हस्पिटलमा रिफर गर्नु रहेको छ । राजमार्गमा सबारी दुर्घटना हुदा घाईतेहरुको तत्कालै हस्पिटल पुरयाउन साधन नपुगेको अबस्थामा यो सेवा प्रभावकारी हुनेछ । डाक्टर चौधरीले यो सेवाले सडक दुर्घटनामा परेकाहरुको तत्कालै उपचार सम्भब रहने बताए ।
डाक्टर चौधरीका अनुसार दक्ष चिकित्सक र पारामेडिक्स, अत्यावश्यक मेडिकल उपकरण र आपत्कालीन औषधिहरू, पोर्टेबल अक्सिजन आपूर्ति, फलाम तथा काठ काट्ने उपकरणहरू, चेस्ट ट्युब राख्ने तथा माइनर सर्जरीका सामग्रीहरू सहित २४ सैं घण्टा एम्बुलेन्स निःशुल्क उद्धार सेवामा रहनेछ । सेवा संचालनको जानकारी हस्पिटलले सुरक्षाकर्मी, सञ्चारकर्मी माझ सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईले हस्पिटलले सञ्चालन गरेको निःशुल्क उद्धार सेवाले घाइतेहरूलाई राहत मिल्ने बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।