
वीरगञ्ज ।
नेपालमा लागू औषधका कारोबारी र सेवनकर्ताहरुको संख्या बढ्दै गइरहेको र यो एक सामाजिक चुनौती रहेको प्रहरीले नै बताउने गरेको छ । नेपाल प्रहरी सहित अन्य सरोकारवलाहरुले लागू औषधको दुब्र्यसन रोक्नका लागि अभियान नै संचालन गरेपनि अपेक्षाकृत रुपमा सफलता हासिल हुन नसकेको प्रहरीकै तथ्यांकले देखाएको छ । बिशेषगरी भारतबाट ब्यवसायिक रुपमा नै यस्ता लागू औषधहरुको कारोबार हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
वीरगन्जबाट हेटौंडा तर्फ जांदै गरेको एक भारतीय कारबाट भारी मात्रामा लागू औषध बरामद भएपछि यो तथ्य सार्वजनिक भएको हो । नियमित चेकजाँचका क्रममा बाराको अमलेखगन्जको प्रहरीको टोलीले भारी मात्रामा लागू औषध सहित भारतीय नम्बर प्लेटको कार र त्यसका चालक सहित दुईजनालाई पक्राउ गरेको छ । अमलेखगन्जका प्रहरी बरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरीले बारा प्रहरीकै इतिहाँसमा सबैभन्दा धेरै २ हजार एक सय ६० पत्ता अबैध लागू औषध ट्रामाडोल र ७६ वटा अनरेक्स लागू औषध बरामद गरेको छ ।
यो संगै प्रहरीले भारतको बैसाली ग्राम बस्ने २७ बर्षको धीरजकुमार सिंह र १८ बर्षको किशोर चन्दन कुमार पटेललाई नियन्त्रणमा लिएको छ । उनीहरुले अबैद्य रुपमा हेटौंडा सहित काठमाडौं लगायतका स्थानमा यी लागू औषध बिक्रीका लागि लैजांदै गरेको प्रहरीले अनुसंधानको क्रममा पत्ता लगाएको बताएको छ ।
अमलेखगन्ज प्रहरीले भारतीय कार बीर आर.०१ बीयू ३४८५ भित्र फल्स बटम बनाएर लुकाएर लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो । भारतबाट वीरगन्जको बाटो हुदै हेटौंडा जांदै गरेको यो कार वीरगन्ज नाका पार गर्न भने सफल भएपछि अमलेखगन्ज प्रहरीको चलाखीका कारण प्रहरीको फन्दामा परेको हो । प्रहरीका अनुसार वीरगन्ज नाकाबाट दैनिक सयौंको संख्यामा लागू औषधका सेवनकर्ता र कारोबारीहरु ओहोरदोहोर गर्ने गर्दछन् । दैनिक चार,पाँचजना बारा र पर्सामा पक्राउ परिरहेको समाचारहरु समेत आउने गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।