
कास्की ।
पोखरामा दीर्घकालीन पुनस्थापना केन्द्र स्थापना गरिएको छ । घर–परिवार तथा समाजबाट समस्या भोगेका छोरीहरू, मानसिक स्वास्थ्य समस्या भोगिरहेका महिला तथा व्यक्ति तथा दुव्र्यसनमा फसेकाहरूको दीर्घकालीन पुनःस्थापना गर्ने उद्देश्यसहित गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा ३३ पुष्पबस्तीमा पुनःस्थापना केन्द्र स्थापना गरिएको हो ।
स्थापित केन्द्रको प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानवीय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताउँदै यो केन्द्र गण्डकी प्रदेशको सामाजिक रूपान्तरणको अभियानमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । ‘पुनःस्थापना केन्द्र सञ्चालनका लागि स्पष्ट कार्यविधि बनाइएको छ । सोहीअनुसार सञ्चालन हुनेछ’, मुख्यमन्त्री पाण्डेले भन्नुभयो– ‘सञ्चालनको स्पष्ट मोडालिटी नहुँदा अहिलेसम्म समस्या भएको थियो ।
अब त्यस्तो समस्या छैन ।’आत्महत्या दर शून्यमा झार्ने लक्ष्यसहित प्रदेश सरकार रहेको उल्लेख गर्दै पुनःस्थापना केन्द्र प्रभावकारी हुने विश्वास लिनुभयो । राज्यले अभिभावकत्व ग्रहण गर्दै पुनःस्थापना कार्यक्रमलाई अगाडि बढाउने कुरामा विश्वस्त हुन उहाँको आग्रह थियो । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले गण्डकी प्रदेश दीर्घकालिन पुनःस्थापना केन्द्रको उद्घाटन आफ्नो कार्यकालको महत्वपूर्ण कार्य भएको जिकिर गर्नुभयो ।
पुनःस्थापना केन्द्र सञ्चालनमा गण्डकी सरकारबाट कुुनै समस्या नरहने र बजेट व्यवस्थापनसमेत त्यहीअनुरूप हुने उहाँले बताउनुभयो । हिंसापीडित महिलाहरूलाई कम्तीमा ६ महिना र बढीमा २ वर्षसम्म राख्ने व्यवस्था मिलाउने गरी पुनःस्थापना केन्द्र सञ्चालनमा आएको मन्त्री थापाको भनाइ थियो । प्रदेश सरकारको ७० र पोखरा महानगरको ३० प्रतिशत लगानीमा उक्त केन्द्र सञ्चालन गरिएको हो । प्रदेश सरकारले ८४ वटै पालिकामा न्यायिक सहजकर्ता पठाइसकेको छ । अब मनोसामाजिक परामर्शदाता पनि पालिकासँग सहकार्य गरेर पठाउने सुरुवात गरिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फन्ड(बजेट)कै कारण योजनाहरू अलपत्र पर्न नहुने स्पष्ट पार्नुभयो । प्रदेश सरकारले नेतृत्व गर्ने गरी, महानगर र प्रदेश सरकार मिलेर भौतिक पूर्वाधारदेखि मनोपरामर्शसम्मको सेवामा सहकार्य गर्ने उहाँले सुनाउनुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एकद्वार प्रणालीबाट सञ्चालन हुनेगरी सामूहिक प्रयासमा केन्द्र अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
प्रमुख सचिव शोभाकान्त पौडेलले दीर्घकालीन रूपमा स्थायी संस्था निर्माण गरी रिजल्ट दिने ढंगले अगाडि बढ्नुपर्ने औंल्याउनुभयो । कार्यक्रममा कोपिला नेपालकी विना सिलवालले घरपरिवार र समाजबाट समस्या भोगेका छोरीहरूको संरक्षण गृह हुनुपर्नेमा जोड दिनुभयो । ‘संरचना तयार भए पनि कार्यान्वयन हुन नसक्नु दुःखद् थियो । तर, अब सरकार संवेदनशील बनेको आभाष भएको छ’ –उहाँले भन्नुभयो । पुनःस्थापना केन्द्र सञ्चालनका लागि २०७५ सालमै पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबीच समझदारी भए तापनि कार्यान्वयनमा ढिलाइ हुँदै आएको थियो ।
सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाको विशेष पहलमा उक्त केन्द्र अहिले सञ्चालनमा आएको हो । केन्द्रको उद्घाटनसँगै अहिले घर–परिवार तथा समाजबाट समस्या भोगेका छोरीहरू, मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्ति तथा दुव्र्यसनमा फसेकाहरूको दीर्घकालीन पुनःस्थापनाको थालनी हुने विश्वास गरिएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका सांसद भीम कार्की, रेखा गुरुङ, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकाल, पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो । समाजमा दीर्घकालीन पुनःस्थापनाको आवश्यकता र यसको प्रभावकारितालाई मध्यनजर गर्दै उद्घाटन भएको यो केन्द्र गण्डकी प्रदेशका लागि मात्र नभई समग्र नेपालको पुनःस्थापना र मानसिक स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण काम भएको सबैको भनाइ थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।