
काठमाडौं।
सार्वजनिक यातायात व्यवसायीले सोमबारदेखि आफ्ना सम्पूर्ण यातायातका साधनहरू थन्क्याएर सार्वजनिक सेवा ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा निजी सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले सोमबारदेखि सवारीसाधन घर, ग्यारेजमा थन्क्याएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएका हुन् । यसरी यातायात व्यवसायीले सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरेपछि सर्वसाधारण अत्यधिक मर्कामा पर्ने भएका छन् । उनीहरूले यातायात व्यवसायीसँग तत्काल वार्ता गरी निकास खोज्न सरकारसँग आग्रह गरेका छन् ।
गण्डकी प्रदेश सरकारले संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत निजी सवारीलाई सार्वजनिक यातायातसरह मान्यता दिएको भन्दै व्यवसायीले सो मान्यता खारेज गर्नुपर्ने माग गरेका छन् ।
प्रदेश सरकार र संघ सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै बाध्य भएर सेवा बन्द गर्न लागिएको व्यवसायीको भनाइ छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।