
काठमाडौं ।
सभामुख देवराज घिमिरेसँगको संयुक्त छलफलपछि सत्ता पक्ष र प्रतिपक्षी दलहरू छुट्टाछुट्टै छलफल गरेका छन् । यसअघि सभामुखले आह्वान गरेको संयुक्त बैठकमा सभामुख र सत्तापक्षका प्रमुख सचेतकले गृहमन्त्रीलाई बोल्न दिन विपक्षीलाई आग्रह गरेका छन् ।
यसबारे विपक्षी दलहरू सकारात्मक रहेको सत्तापक्षको भनाइ छ । तर विपक्षीहरुले आफूहरूका कुरा प्रष्ट राखेका छन् । राज्यका जिम्मेवार पदाधिकारीको संलग्नतामा भिजिट भिसा मार्फत मानव तस्करी गरिएको आशंका गर्दै विपक्षी दलहरूले २०६४ यताका सबै गृहमन्त्री र श्रममन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने सत्तापक्षलाई माग राखेका छन् ।
विपक्षीको यस मागबारे निर्णयमा पुग्न सत्ता पक्ष पनि आन्तरिक छलफलमा जुटेका हुन् । दुवै पक्षको छलफल संसद भवन बानेश्वरमा चलिरहेको छ । सत्ता र प्रतिपक्षी दलहरू आन्तरिक छलफलमा जुटेकाले सभामुखले आज ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेलाई सारेका छन् । बैठकमा माओवादी, रास्वपा र नेकपा (एकीकृत समाजवादी)का नेताको सहभागिता थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।