
काठमाडौं ।
नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालले नेपालमै पहिलोपटक कम्प्युटर नेभिगेसन प्रविधिको प्रयोग गरी घुँडाको प्रत्यारोपण (नि आर्थोप्लास्टी) सेवा शुरू गरेको छ । पछिल्ला केही वर्षयता सेवा विस्तार र प्रविधि सुधारमा निरन्तर ध्यान दिँदै आएको निजामती अस्पतालले क्यान्सर उपचार सेवा, कार्डियाक केयर युनिट, डायलाइसिस सेवालगायतका सुविधा विस्तारपछि अहिले अत्याधुनिक घुँडा प्रत्यारोपण सेवा विस्तार गरेको हो ।
मुख्यसचिव तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एकनारायण अर्यालले मंगलवार उक्त सेवाको औपचारिक रूपमा शुभारम्भ गर्नुभएको हो । अस्पतालले अत्याधुनिक प्रविधिको प्रयोग गरी बिरामीको उपचार प्रणालीमा गुणात्मक सुधार ल्याएको भन्दै यो प्रविधिबाट बिरामीहरूले बढी लाभ लिन सक्ने बताउनुभयो । मुख्यसचिव अर्यालले आगामी दिनमा अन्य सरकारी अस्पतालहरूमा पनि यस्ता प्रविधिहरू विस्तार गरिनुपर्नेमा जोड दिनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले अस्पतालले आफ्नो प्रतिबद्धताअनुसार आगामी दिनहरूमा अन्य नयाँ सेवा र प्रविधिहरू पनि थप गर्दै जाने योजना रहेको जानकारी दिनुभयो ।
घुँडा प्रत्यारोपण विशेषज्ञ डा. सुमनबाबु मरहठ्ठाले नेभिगेसन प्रविधिबाट गरिएको घुँडाको प्रत्यारोपणलाई नेपालका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यो प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्दा बिरामीलाई कम पीडा हुने, छिटो निको हुने र राम्रो परिणाम दिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘परम्परागत विधिमा केही सीमितता थिए, तर कम्प्युटर नेभिगेसन प्रविधिबाट प्रत्यारोपण गर्दा जोर्नीको सही कोण र स्थिति सुनिश्चित गर्न सकिन्छ ।
यो विधि विशेषगरी बुढ्यौली, चोटपटक वा घुँडा खिइएका बिरामीहरूको लागि निकै उपयोगी छ ।’ उहाँले यस प्रविधिले उपचार प्रक्रियामा गुणस्तरीय सुधार ल्याउने विश्वास व्यक्त गर्दै अस्पताल व्यवस्थापनले आगामी दिनमा यो सेवालाई अझ विस्तार गर्ने र आवश्यक पर्ने उपकरण तथा जनशक्ति थप गर्ने तयारी पनि गरिरहेको जानकारी दिनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।