
स्याङ्जा।
विश्व वातावरण दिवस, प्रत्येक वर्ष जून ५ मा मनाइन्छ । यस दिवसले वातावरण संरक्षणको लागि जागरुकता ल्याउन प्रोत्साहित गर्दछ । ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ भन्ने नाराका साथ स्याङ्जामा पनि विश्व वातावरण दिवस २०८२ विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा विभिन्न ठाउँमा बृक्षारोपणदेखि वातावरण संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन् । स्थानीय पालिकाहरुलाई अनिवार्य रुपमा यो दिवस मनाउन मातहतको मन्त्रालयले अनुरोध गरेको भएतापनि अधिकांश पालिका भने यो विषयमा बेखवर देखिए । वातावरण विनाशका कारण गतबर्ष स्याङ्जाका धेरै ठाउँहरुमा बाढी पहिरोले वितण्डा नै मच्चाएको थियो । उक्त बाढीपहिरोमा परि १५ जनाको ज्यान समेत गएको थियो । जिल्लाका पालिकाहरुले वातावरणीय सुधारका क्षेत्रमा गरेका प्रतिवद्धताहरु अझै पनि पूरा हुन सकेका छैनन् । प्लास्टिकका झोला निर्मूल पार्ने कुरा गफमै सीमित हुन पुगेको छ ।
दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जाले आँधीखोला गाउँपालिकाको वडा नं. १ पञ्चमुलमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयका डिभिजनल वन अधिकृत नवराज बरालले स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्रण गर्नुपर्ने बताए । उनका अनुसार हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण आवश्यक रहेको छ । हरितगृह ग्याँसको उत्सर्जन कम गर्नु भनेको वनजंगलको संरक्षण, संवर्द्धन र वन विकासमा टेवा पु¥याउने उद्देश्यले सिम्बोलिक रुपमा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाइएको हो । त्यसका लागि सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरुको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने उनको भनाइ छ ।
वातावरण दिवसकै सन्दर्भ पारेर बिरुवा गाउँपालिकाले पालिकाभित्रै पर्यावरण अवलोकन भ्रमण समेत गरेको छ । गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर कुँवरका अनुशार वातावरण संरक्षणका लागि बजार क्षेत्रमा निस्कने फोहरलाई डम्पिङ साइटमा जम्मा गर्ने गरिएको छ । यो पालिकाले फोहरलाई बिक्रिवितरण गर्ने गरेको छैन । वातावरणलाई स्वच्छ, सफा र हराभरा बनाउने दायित्व सबैमा हुनुपर्ने कुँवरको भनाई छ । वातावरण जोगाऔं भन्ने अभियानमा गल्याङ नगरपालिका लागिपरेको भएता पनि डम्पिङ साइटको अभावमा बजारको फोहर पालिकाले व्यवस्थापन गर्न नसकेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए । आन्तरिक समस्याले गर्दा फोहर व्यवस्थापनमा कठिनाई भएको उनको भनाई छ ।
प्लास्टिकका झोला न्यूनिकरणमा लागेको भीरकोटले पनि भनेजति सफलता हासिल गर्न सकेको छैन । गत बर्षबाट यो पालिकामा प्लास्टिकका झोला न्यूनिकरण गर्ने भन्दै हरेक घरमा सपिङ ब्याग समेत वितरण गरिएको थियो । तर त्यसपछी यसमा खासै काम भएको देखिदैन । जिल्लाको पुतलीबजार नगरपालिकामा ४ बर्ष अघिदेखि नै यो प्रयास गरिएको भएता पनि उपलब्धि प्राय शून्य नै छ । जिल्लाको वालिङ, भीरकोट र पुतलीबजारमा व्यवस्थित फोहरमैला संकलन तथा सफाइ केन्द्र निर्माण गरिएको छ । उक्त सफाइ केन्द्रहरुबाट फोहरमैला बिक्री गरी यो आ.व.मा भीरकोटले १० लाख २० हजार, पुतलीबजारले ५ लाख र वालिङले २५ लाख कमाएका छन् । फोहरलाई पनि व्यवस्थित गर्न सके कमाई पनि हुने र वातावरण दुषित पनि नहुने सन्देश यी पालिकाहरुले दिएका छन् । फोहरमैला व्यवस्थापनामा अझै पनि जनचेतनाको कमी रहेको भीरकोटका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यको भनाई छ ।
जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले कुहिने र नकुहिने फोहर वर्गीकरण गरी कुहिनेलाई मलखादको रुपमा प्रयोग गर्न भनेको छ । पालिकाका अध्यक्ष प्रकाश तिवारीका अनुशार हप्ताको २ दिन शुक्रबार र शनिबार फोहर उठ्ने गरेको भएता पनि नकुहिने फोहर मात्र उठ्ने गरेको बताउँछन् । संकलन गरिएको फोहर नजिकैको अन्य पालिकासँग समन्वय गरेर बिक्रीवितरण गर्ने तयारीमा रहेको तिवारीले बताए । अर्जुनचौपारीले पालकामा सरसफाई र वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको छ । यसैगरी भीरकोटको बालोदय अ.आ.मा.वि.ले पनि मेरो फोहर मेरो डस्टविन अभियान संचालन गरी वातावरण दिवस मनाएको हो । सचेतनामुलक प्लेकार्ड सहित विद्यार्थीहरुको ¥यालीले सुन्दरबजार परिक्रमा गरी वातावरण संरक्षणको नारा लगाएर दिवस मनाएको विद्यालयले जनाएको छ ।
जिल्लाको फेदीखोला गाउँपालिकाले यसअघि नै विद्यार्थी मार्फत वातावरण सरसफाईको अभियान थालेको थियो । केही पालिकाहरुले वातावरण संरक्षणका लागि असल अभ्यासहरुको थालनी गरेको भएतापनि अहिले अधिकांश पालिकाका बजारका ढलहरु पोलिथिन फोहोरहरुले भरिंदा सडकमै ढल बग्ने गरेको देखिन्छ । प्लास्टिकका अन्य सामग्री र पोलिथिनका झोला र प्याकेटहरुले गर्दा सिंचाइका कुलोहरु पुरिंदै र साँघुरिंदै गएका छन् । प्लास्टिकले गर्दा कुलो सरसफाइ र मर्मत गर्न कठिन हुँदै गएको छ । खोलामा पोलिथिन फोहोरको मात्रा बढेकोले खोलाहरु पुरिने र बहावमार्ग परिवर्तन हुने क्रम जताततै बढिरहेको छ ।
राजमार्ग किनारका वन क्षेत्रमा प्लास्टिक झोला र थैलाजन्य फोहोर जताततै छरिएको देखिन्छ । वनमा छरिएको प्लास्टिकले गर्दा वनस्पतिको वृद्धि र विस्तारमा प्रतिकूल असर परेको मात्र छैन, पोलिथिन झोला र थैलाभित्र रहने केही खानेकुराको लोभमा प्लास्टिक समेत खान पुग्दा वन्यजन्तु र वनमा चर्ने घरपालुवा पशुचौपायाहरु मरेका खबरहरु बारम्बार आइरहेका छन् । खोला र कुलोमा फ्याँकिएका प्लास्टिक झोला र थैलाहरु सिंचाइको क्रममा किसानका खेतबारीमा पुग्ने गरेकोले कृषि उत्पादनमा ह्रास, खनजोतमा कठिनाइ उत्पन्न भएको भीरकोट ५ का कृषक रमेश अर्याल बताउँछन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।