काठमाडौं
विश्व वातावरण दिवस-२०२५ को अवसरमा सुनाखरीलाई प्रकृतिमा फर्काउने मूल नाराका साथ अर्किड फ्लोरिकल्चर ग्रुप (ओएफजी) ले बिहीबार रानीबारी सामुदायिक वनमा सयौं नेपाली रैथाने सुनाखरीका बिरुवाहरू रोपेको छ ।

सुनाखरीलाई पुनः प्राकृतिक बनमा फर्काउने अभियानअन्तर्गत डेनड्रोबियम, भान्डालगायतका नेपाली रैथाने जातका सुनाखरी बिरुवाहरू रोपिएको ओएफजीका संयोजक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए । रैथाने जातको संरक्षणले जैविक विविधता मात्र होइन, जैविक पर्यावरण सन्तुलनमा समेत सहयोग पुर्याउने विश्वास गरिएको छ।

ओएफजीका अर्का संयोजक अञ्जनी जोशीले वातावरणीय सन्तुलन र जैविक विविधता संरक्षणको सन्देश फैलाउन सुनाखरीका बिरुवाहरुलाई सामुदायिक वनमा रोपिएको जानकारी दिइन । उनले नेपाली रैथाने सुनाखरीलाई प्रकृतिकै वनमा पुनः फर्काउने क्रममा यो ओएफजी पहिलो कदम भएको बताईन ।

सहभागीहरूले सुनाखरीलाई केवल गमलामा राख्ने सजावटको फूलजस्तो मात्रै बुझ्दै आएकोमा यसलाई वनमै फर्काएर संरक्षण गर्न पाएकोमा खुशी लागेको बताए । उनीहरूले सुनाखरीप्रेम र वातावरणप्रतिको जिम्मेवारीलाई जोड्दै, यस्तो कार्यक्रमले समुदायमै हरियाली अभियानलाई सुदृढ बनाउने प्रतिक्रिया दिएका थिए ।

रानीबारी सामुदायिक वनले यसअघि पनि जैविक कृषि, औषधीय वनस्पति, वातावरणीय शिक्षा, र संरक्षणमा विभिन्न सकारात्मक पहल गर्दै आएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।