
–असन्तुष्टहरूको विरोध, अन्तिम समयमा उमेर हद कायम गर्नु नेतृत्वको गलत निर्णय
–उमेर हद कायम भएपछि सचिवमाथिका सबै बिदा
–अध्यक्षमा ५ आकांक्षी सचिवमध्ये एक जना अध्यक्षको दाबेदार
काठमाडौं ।
एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा नेतृत्व छान्न निर्वाचन नहुने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व छान्न निर्देशन दिएपछि निर्वाचन नहुने भएको हो । प्रम ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सबै पदाधिकारीलाई बोलाएर सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्रीको सो निर्णयप्रति केही विद्यार्थी नेताले असन्तुष्टि जनाएका छन् भने केहीले स्वाभाविक भनेका छन् । एमालेको २३ वटा जनवर्गीय संगठनमध्ये युवासंघबाहेक अधिकांश सर्वसम्मत नेतृत्व चयन भएको छ । आज आइतबारबाट शुरू हुने २४औं महाअधिवेशनमा अनेरास्ववियुको नेतृत्व टुंग्याउन एमालेले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकालको नेतृत्वमा सात सदस्यीय समिति बनाएको छ । समितिमा पूर्वअध्यक्षहरू माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर, सुनिता बराल र अध्यक्ष समिक बडाल छन् । अनेरास्ववियुका अध्यक्ष समिक बडालले पार्टी अध्यक्ष एवं प्रम ओलीले दिएको निर्देशनअनुसार सर्वसम्मत नेतृत्व चयन हुने बताउनुभयो ।
अनेरास्ववियुमा महाधिवेशनको एक दिनअघि अर्थात् हिजो शनिवारसम्म पनि केही जिल्लामा प्रतिनिधि चयन हुन सकेको छैन । करिब १ हजार ५ सय प्रतिनिधि हुन्छन् । गण्डकीको कास्की, बागलुङसहित कोशीका केही जिल्ला तथा कर्णाली र मधेसका केही जिल्लामा प्रतिनिधि टुंग्याउन बाँकी नै रहेको छ । केहीबाहेक सबैमा छनोट गरिसकेको अध्यक्ष बडालले बताउनुभयो । ‘पार्टी अध्यक्षले दिएको निर्देशनअनुसार नै पदाधिकारीसहित सबै कार्यसमिति चयन हुनेछन् । कसैले विवाद गर्नु जरुरी छैन’ –अध्यक्ष बडालको भनाइ थियो ।
‘पार्टीकै अध्यक्ष एवं प्रधानमन्त्रीले सर्वसम्मति गर्नुस् भनेपछि महाधिवेशनलाई लोकतान्त्रिक प्रक्रियामा जान नदिइन सक्छ । अब नेतृत्वमा आउन नेताको चाकडी गर्नुको विकल्प छैन । यो महाअधिवेशनबाट अनेरास्ववियुमा ३२ वर्षे उमेर हद कायम भएको छ । एमाले सचिवालयको जेठ ११ गते सम्पन्न बैठकले विद्यार्थी संगठनमा उमेरहद कायम गरेको हो ।यो निर्णयसँगै सचिवभन्दा माथिका १५ जना पदाधिकारी नेतृत्व तह पंक्तिबाट बाहिरिएका छन् । अघिल्लो कार्यसमितिका अध्यक्षसहित अधिकांश पदाधिकारीमा आकांक्षा राख्ने बिदा भइसकेका छन् । ३२ वर्ष ननाघेका सचिवहरू प्रकाश पौडेल दीपक धामी, आरती भट्टराई, अञ्जना शिवाकोटी र सुजन कडरियाले अध्यक्ष पदमा आकांक्षा राखेका छन् । अध्यक्ष चयन भएपछि तीनैमध्ये अन्यलाई महासचिवलगायत पदाधिकारीको जिम्मा दिने तयारी छ ।
भाग मिलाउन पाँच जनामध्येबाटै महासचिव र उपाध्यक्ष हुनेछन् । अध्यक्षका मुख्य दाबेदार पौडेल हुनुहुन्छ । उमेर हद लगाउने निर्णयकै कारण हालका उपाध्यक्षहरू नारायण घर्ती, धर्म गिरी, मर्यादा विष्ट र गोविन्द गिरी, महासचिव नरेश रोकाया संगठनबाट बाहिरिएका छन् । सचिवहरू मनोज ताम्ली, सञ्जीव धिताल, आशिर्वाद सुवेदी, विनिता काफ्लेलगायतले अखिलको संगठन छोड्नुपरेको छ । पार्टी निर्णयमा असन्तुष्टि र फरक मत देखिएपछि महासचिव शंकर पोखरेलले विद्यार्थी इन्चार्ज किशोरविक्रम मल्ललाई उमेर हद लगाउन पत्र पठाउनुभएको थियो ।
महाधिवेशन गर्न निर्देशन दिनुभएको थियो । सो निर्देशनलगत्तै महासचिव नरेश रोकायाले सार्वजनिक रूपमै निर्णयको विरोध जनाउनुभएको थियो । विरोध जनाए पनि उहाँको कुरा सुनुवाइ भएन । उमेर हद कायम गरी महाअधिवेशन गर्न लागेको हो । महाधिवेशन यही २८ गतेसम्म हुनेछ । प्रतिनिधि चयनको विषयमा विवाद भए तापनि महाधिवेशनको मिति नसर्ने गरी निर्णय भइसकेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।