खोटाङ।
खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणमा अनियमितता गरेको आरोपमा आइतबार मुद्दा दायर गरेको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित कृष्ण माविको भवनमा बदनियत पूर्ण तरिकाले २५ लाख ५० हजार रुपैयाँ अनियमितता गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले प्रेस विज्ञप्ति मार्फत मुद्दा दायर गरिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा तत्कालीन शिक्षा अधिकारी नेपाल, जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इञ्जिनियर बृधन यादव, सब–इञ्जिनियर शिवराज भट्टराई, लेखा अधिकृत भुवनप्रसाद आचार्य र लेखापाल सुरेशकुमार श्रेष्ठ छन् ।
त्यस्तै कृष्ण माविका तत्कालीन प्रअ खेमराज मगर, भवन निर्माणताका विद्यालय व्यवस्थापन समितिको अध्यक्षता गरेका टीकाराम राई, हरिनारायण राई र भवन निर्माण गर्ने जयप्रसाद राई विरुद्धमुद्दा दायर भएको हो ।
प्रतिवादीहरूविरुद्ध जनही २५ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको विज्ञप्तिमा उल्लेख छ । कृष्ण माविको चारकोठे आरसीसी भवन निर्माणका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयको २४ लाख अनुदान र जनसहभागिताबाट २१ लाख १० हजार ८ सय ९२ गरी ४५ लाख १० हजार ८ सय ९२ रुपैयाँमा सम्झौता भएको थियो ।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।