काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले विभिन्न निकायलाई बैंकबाट दिइने करोडौं रुपियाँ ऋणमा सहजीकरण गरिदिएको भन्दै ७४ लाख रुपियाँ घुस लिएको तथ्य फेला पारेको छ ।
बैंकका तत्कालीन अध्यक्ष अधिकारीले तनहुँ आँबुखैरनी १ मा रहेको अकलादेवी ट्रेडर्सको ऋण प्रक्रियाका क्रममा घुसवापत ५० लाख, काठमाडौं महानगरपालिका –३२ स्थित हिमाल तराई कन्स्ट्रक्सनबाट घुसस्वरूप ५ लाख र रूपेन्देहीको सिद्धार्थनगर १ बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गतको –याडिसन प्रोजेक्टबाट ऋण मिलाइदिएवापत १९ लाख रुपियाँ घुस लिएको फेला परेको हो ।
यसरी विभिन्न निकायलाई बैँकबाट करोडौं रुपियाँ ऋण प्रवाह गरेवापत ७४ लाख रुपियाँभन्दा बढी घुुस खाएको पुष्टि भएपछि अख्तियारले तत्कालीन अध्यक्ष अधिकारीसहित घुस प्रक्रियामा संलग्न व्यक्तिहरुविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बैंकबाट प्रवाह हुने करोडौं रुपियाँ ऋण हचुवामा मिलाइदिने र त्यसवापत लाखौं रुपियाँ घुुस लिएको तथ्य फेला परेपछि घुस लिने र खुवाउने दुवै पक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।
अख्तियारका अनुसार बैंकका तत्कालीन अध्यक्ष अधिकारीले तनहँुको आँबुखैरनीस्थित अकलादेवी ट्रेडर्सको ऋण प्रक्रियामा सहजीकरण गर्न भन्दै ५० लाख रुपियाँ घुस लिएका थिए । सो संस्थाले २५ करोड ऋण निकाल्ने लक्ष्य राखेकोमा तत्काल मागबमोजिम रकम प्राप्त नभएपछि सो संस्थाका दानबहादुर कार्की, सुन्दरबहादुर बानियाँ, नारायणप्रसाद बराल र सन्तोष सुुवेदी अध्यक्ष अधिकारीसमक्ष पुगेका थिए ।
अधिकारीले आफूलाई कुल ऋणको एक प्रतिशत अर्थात २५ लाख रुपियाँ बुझाउने सर्तमा विभिन्न मितिमा अधिकारीलाई २५ लाख उपलब्ध गराउनुभएको थियो । अख्तियारले यस प्रकरणमा बैंकका तत्कालीन अध्यक्ष अधिकारीसहित घुस कारोबार गर्ने नारायणप्रसाद बराल, दानबहादुर कार्की, सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी र लक्की खान भनिने खुस नसिब अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरू प्रत्येकसँग ५० लाख घुस रकम जफत तथा असुलउपर गर्न माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
यसै गरी अख्तियारले नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारीविरुद्ध अर्को १९ लाख घुस प्रकरणमा दोस्रो मुद्दा दायर गरेको छ । अख्तियारले रूपन्देहीस्थित भुसाल हस्पिटालिटीअन्तर्गतको –याडिसन प्रोजेक्टसँग १ अर्ब ७७ करोड २९ लाख ऋण दिनका लागि अधिकारीले विभिन्न समयमा १९ लाख रुपियाँ घुस बुझेको अभियोग लगाएको छ । यस प्रकरणमा अख्तियारले अधिकारीसहित लक्की भन्ने खुस नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै उनीहरूसँग १९ लाख बिगो र बिगो बराबरको जरिवानाको माग गरिएको छ ।
यसै गरी बैंकका तत्कालीन अध्यक्ष अधिकारीविरुद्ध अर्को संस्थासँग ५ लाख घुस लिएको आरोपमा अख्तियारले तेस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीले काठमाडांै महानगरपालिका ३२ स्थित हिमाल तराई कन्सट्रक्सन प्रालिबाट ५ लाख रुपियाँ घुस लिएको पाइएपछि यस प्रकरणमा अख्तियारले अधिकारीसहित रमेश आचार्यमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस प्रकरणमा सो संस्थाले ६ करोड ऋण लिनका लागि ५ लाख रुपियाँ घुुस खुवाएको पाइएको छ । अख्तियारले सोमबारमात्रै विभिन्न भ्रष्टाचार प्रकरणमा ६ वटा मुद्दा दायर गरेको जनाइएको छ ।
यसरी भएको थियो ५० लाखको घुस कारोबार

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।