
–आधा दर्जन विभागीय प्रमुख तनावमा
काठमाडौं ।
महानगरपालिकाका मेयर बालेन्द्र साहका सचिवालयका कर्मचारी, सहरी योजना आयोगका विज्ञ र सहायक विज्ञको दबाबका कारण आधा दर्जन विभागीय प्रमुखसहित करिब डेढ दर्जन कर्मचारी अख्यितार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिँदादिँदै हैरान भएका छन् ।
मेयर साहका स्वकीय सचिव भूपदेव साह, सहरी योजना आयोगका अध्यक्ष सुमननरसिंह राजभण्डारी, सल्लाहकार शंकरप्रसाद पाण्डे, व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार, सहरी योजना आयोगका विज्ञ र विज्ञ सुनील लम्साल, शैलेन्द्र झा, सहायक विज्ञ स्मित पोखरेल, सुदीप ढकाल, धीरज जोशीलगायतको दबाबको कारण विभागीय प्रमुख र कर्मचारी अख्तियारको बयान दिँदादिँदै हैरान भएका छन् ।
हुन त मेयर साहको दबाबमा कारण फ्रान्स भ्रमणको फाइल स्वीकृत गर्दा विभागीय प्रमुखसहित मेयरका दुई जना सल्लाहकार सुनील लम्साल र कुमार व्यञ्जनकारले आयोगमा बयान दिएका छन् । उच्चस्रोतका अनुसार मेयर साहसमेत बयान दिन जाने तयारी गर्नुभएको छ । आयोगले सो प्रकरणमा अघिल्ला प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायतसँग बयान लिएको छ । नीतिगत रुपमा निर्णयकर्ताको भूमिकामा नरहेका सहरी योजना आयोगका अध्यक्ष राजभण्डारी र सल्लाहकार पाण्डेले विज्ञ र सहायक विज्ञमार्फत विभागीय प्रमुखलाई दबाब दिन लगाएर कर्मचारीलाई नचाहिँदो निर्णय गर्न बाध्य पारेको आरोप छ ।
सोही बाध्यताको कारण विभागीय प्रमुखहरूले बयान दिइरहेका छन् । मेयरको गौरव र स्वर्णिय योजनाको कार्यक्रममा भ्रष्टाचार हुने गरेको छ । सोही विषयमा अख्तियारले सूक्ष्म अध्ययन गरिरहेको छ । उच्चस्रोतका अनुसार हाल मेयर सचिवालय र सल्लाहकारको कारण आधा दर्जन योजनामा भ्रष्टाचार भएको भन्दै अनुसन्धान शुरु गरेको छ । सामाखुसी ठेक्कामा एक कम्पनीलाई कालोसूचीमा राखेको आरोपमा चार विभागीय प्रमुखसहित ७ जनाले बयान दिएका छन् ।
जबरजस्ती टेन्डर गरी आर्थिक लेनदेन गरेको आशंकामा एम्बुलेन्स खरिद काण्डको छानबिन जारी छ । स्मित पोखरेल, शिक्षा र समाजिक, सुदीप ढकाल, आईटीदेखि सबै टेन्डरमा हस्तक्षेप गर्ने शिक्षा विज्ञ शैलेन्द्र झाको दबाबमा स्मार्टबोर्ड खरिद गर्दा भ्रष्टाचार भएको आशंका गरिएको छ । सो काण्डमा झाको कुनै हस्ताक्षर छैन । तर, उहाँकै दबाबमा हस्ताक्षर गर्ने कर्मचारी अख्तियार धाइरहेका छन् ।
त्यस्तै, रोडमार्किङ, टेकुस्थित काममा भवन निर्माण, सिपमेलालगायत विषयमा समेत अख्तियारले छानबिन शुरू गरेको छ । खरिदसँग जोडिएको विषयमा खरिद इकाइ प्रमुख इन्जिनियर रामरतन साहले हस्ताक्षर गर्ने गर्नुभएको छ । इन्जिनियर साह ललितपुर महानगरपालिकाबाट कामपामा सरुवा हुनुभएको थियो ।
खरिद प्रक्रियाको सबै विभागको अधिकार लिएका इकाइ प्रमुख साहको हालसालै अधिकार कटौती गरिएको छ । अधिकार कटौती भएपछि साहले मेयर सचिवालयमा गुनासो गर्नुभएको थियो । हाल उहाँको खरिद र टेन्डर गर्ने अधिकार कटौती गरी सम्बन्धित विभागलाई जिम्मा दिने निर्णय भएको छ ।कामपाका कर्मचारीका अनुसार अधिकांश ठेक्का स्वीकृतिमा सल्लाहकार पाण्डेको हस्तक्षेप हुने गरेको कर्मचारीको आरोप छ । ‘पाण्डे सरले कार्यपालिकाबाट निर्णय गरौ भन्दै कानुनविपरीत काम गर्न प्रोत्साहन दिने गर्नुभएको छ’ –ती कर्मचारीको आरोप छ ।
‘आयोगले छानबिन शुरू गरेपछि लम्साल अख्तियारलाई बयान दिएपछि बुटवल पुग्नुभएको छ । बुटबलबाट अहिले पनि फोहोरको टेन्डर खोल्न पटकपटक दबाब दिइरहनुभएको छ’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । फोहोर व्यवस्थापन गर्न ६ क्षेत्रको टेन्डर खोल्न विभिन्न कर्मचारीलाई दबाब दिइरहेका छन् । तर सो विषयमा समेत अख्तियारले चासो देखाएको छ ।
पछिल्लो समय मेयर साहको आयोजनामा सीप मेला भएको थियो । मेलाको संयोजक झाले ५० लाख रुपियाँ भुक्तनी दिन दबाब दिइरहनुभएको छ । कार्यपालिकाको निर्णयबेगर भुक्तानी दिन मिल्दैन, संयोजक झाले सामाजिक विकास विभागमा दबाब दिइरहनुभएको छ । तर, लेखाले प्रक्रिया नमिलेको भन्दै भुक्तानी रोकेको छ । तर झाले तत्काल भुक्तानी दिन दबाब दिइरहनुभएको छ ।
स्रोतका अनुसार स्मार्टबोर्डमा पनि सोही अवस्था छ । आयोगमा उजुरी परेपछि करिब ५ सय स्मार्टबोर्ड पुतलीसडकस्थित पद्मोदय स्कुलमा ताला लगाएर राखिएको छ । मेयर साहको सचिवालय र सहरी योजना आयोगका विज्ञ र सहायक विज्ञले धम्क्याउने र जबरजस्ती हस्ताक्षर गर्न लगाउँदै कर्मचारीमात्र फस्ने अवस्था पुगेको छ । कामपाका कर्मचारीले जबरस्ती दबाब दिएर हस्ताक्षर गर्न लगाउनेमाथिपनि कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
मेयरका सचिवालयको कारण दिक्क भएका कर्मचारीले सहरी योजना आयोगको कारण भोग्नुपरेको दुःखको बारेमा आवाज उठाउन सबैलाई आग्रह गरेका छन् । मेयर सचिवालयले दिएको आदेश पालना गर्दा कर्मचारीले हदैसम्मको दुःख भोगिरहेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।